चिनियाँ राष्ट्रपतिअघि विदेशमन्त्री मस्कोमा
चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसको भ्रमण गर्ने खबर बाहिरिएसँगै विदेशमन्त्री वाङ वीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति सी मस्को जाने तयारीमा रहेको पश्चिमा सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मस्कोमा हुने भनिएको सी–पुटिन शिखर वार्ताले युक्रेन युद्ध अन्त्य गर्न चिनियाँ प्रयास सकारात्मक हुने अमेरिकी सञ्चारमाध्यमहरुको विश्लेषण छ । चिनियाँ राष्ट्रपतिको रुस भ्रमण आगामी अप्रिल वा मे महिनाको सुरुमा हुनसक्ने सम्भावना रहेको बताइन्छ ।
तर पश्चिमा राष्ट्रहरुले अनुमान गरेको बेलामा चिनियाँ विदेशमन्त्री वाङले मस्को भ्रमण गरिरेहका छन् । वाङले राष्ट्रपति पुटिन र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेटवार्ता गरिसकेका छन् ।
यसैबीच रुसी संसद्को तल्लो सदन स्टेट डुमाले अमेरिकासँगको परमाणु हतियार न्यूनीकरण सन्धि निलम्बन गर्नेसम्बन्धी प्रस्ताव हिजो सर्वसम्मतिले पारित गरेको छ । माथिल्लो सदन द फेडरेसन काउन्सिलले पनि प्रस्ताव पारित गर्ने तयारी गरेको छ । राष्ट्रपति पुटिनले अस्ति युक्रेनको पक्षमा सघाएकामा अमेरिकालगायत पश्चिमा मुलुकप्रति आक्रोश व्यक्त गर्दै अमेरिकासँग गरिएको उक्त सन्धिबाट रुस हट्ने घोषणा गरेका थिए ।
टिप्पणीहरू