पर्यटक लक्षित श्रीलंकाली एपमा सात वटा भाषा

पर्यटक लक्षित श्रीलंकाली एपमा सात वटा भाषा

पर्यटकको सुरक्षाका लागि श्रीलंकाले नयाँ एप सार्वजनिक गर्न लागेको छ । एपमा सात वटा भाषा राखिएको बताइएको छ । २४ सै घण्टा सक्रिय हुने कल सेन्टरसहित उक्त मोबाइल एप सार्वजनिक गर्न लागिएको हो । 

पर्सिदेखि मोबाइल एप शुरु गर्न लागिएको श्रीलंकाका पर्यटनमन्त्री हरिन फर्नान्डोले जानकारी दिए । कोलम्बोमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पर्यटक सुरक्षाका लागि सबैभन्दा राम्रो र प्रभावकारी मोबाइल एप छ । हामी यसलाई सात भाषामा सञ्चालन गर्न सक्छौं ।’

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सम्पूर्ण तीन पाङ्ग्रे सवारी साधनलाई मोबाइल एपमा दर्ता गरिने छ । त्यसको निम्ति विदेशी पर्यटकलाई स्क्यान गर्न ‘बारकोड’ दिइने उनले बताए । पर्यटकले उक्त कोड स्क्यान गरेर सबै जानकारी प्रहरी र पर्यटन अधिकारीलाई तत्काल गराउन सक्नेछन् । प्रहरीले एप अनुगमन गरेर पर्यटकलाई असुविधा वा जोखिममा पार्नेलाई तत्काल कारबाही गर्ने व्यवस्था छ । 

चरम आर्थिक संकटमा फसेको श्रीलंकाले पर्यटन तान्न सक्दो प्रयास गरिरहेको छ । कोरोना महामारी, राजनीतिक र आर्थिक संकटले श्रीलंकालाई ठूलो धक्का लागेको छ । श्रीलंकाले यो वर्ष १५ लाख र सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

टिप्पणीहरू