सुवास नेम्वाङलाई भोट माग्दै एमाले नेताहरु घण्टीको अफिसमा
राष्ट्रपतिमा आफ्नो पार्टीका उम्मेदवार सुवास नेम्वाङलाई भोट माग्दै नेकपा एमालेका नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका छन् ।
नेम्वाङसहित एमाले नेताहरु पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराई आज दिउँसो रास्वपाको केन्द्रीय कार्यालय बसुन्धारा पुगेका हुन् । उनीहरुले रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरुलाई भेटेर मत मागेको बताइएको छ ।
आफ्नो पार्टीका उपाध्यक्ष नेम्वाङलाई राष्ट्रपति जिताउन विभिन्न पार्टीका नेतालाई भेटेर अनुरोध गरिरहेका एमाले नेताहरु यसअघि आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगेका थिए । समाजवादीको मुख्यालय आलोकनगर पुगेका एमाले नेताहरुले अध्यक्ष नेपालसहितका नेताहरुसँग पनि भेटघाट गरेका थिए ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न पार्टीलाई औपचारिक पत्र लेखेर नेम्वाङको पक्षमा भोट हाल्न आग्रह गरेका थिए । एकीकृत समाजवादीले आठदलीय गठबन्धनका उम्मेदवार काँग्रेस नेता रामचन्द्र पौडेललाई भोट दिने निर्णय गरिसकेको छ भने रास्वपाले कुनै निर्णय गरेको छैन ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेम्वाङ र पौडेल प्रतिस्पर्धामा छन् ।
टिप्पणीहरू