नम्बर पहिलो, नामाकरणमा ढिलो

नम्बर पहिलो, नामाकरणमा ढिलो

कमल भट्टराई

पाँच वर्षदेखिको अथक प्रयासपछि प्रदेश नम्बर १ को नामाकरण भएको छ । सात प्रदेशमध्ये पहिलो नम्बरको प्रदेशले आफ्नो नाम सबैभन्दा ढिलो जुराएको हो । 

२०७४ देखि अहिलेसम्मको कसरतमा अस्ति बसेको प्रदेश सभाको बैठकले कोशी प्रदेश सम्बन्धी प्रस्ताव पारित गरेको हो । विशेष गरेर लिम्बूवान, किराँत, खम्बूवान, कोशी, सगरमाथालगायत नामका बारेमा व्यापक छलफल र बहस भएको थियो । तर टुङ्गोमा पुग्न नसकिरहेको अवस्थामा यस पटक एमाले नेतृत्वको प्रदेश सरकारले नामाकरणलाई सल्टाएको छ । प्रदेशको नाम कोशी राखिएकोमा पहिचानवादी पार्टीहरु, केही संघसंस्थाका साथै एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्रका पहिचानवादी कार्यकर्ताहरु पनि रुष्ट देखिएका छन् ।

ताप्लेजुङबाट हिजो संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गर्दै कोशी प्रदेश नमान्ने र आफूहरु पहिचानको मुद्दामा संघर्षरत रहने उल्लखे गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष प्रताप चोङबाङ, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष इन्द्र थलङ, जनता पार्टी नेपालका अध्यक्ष किर्तिमान मादेन, किराँत याक्थुङ चुम्लुङका उपाध्यक्ष डम्बर पालुङ्वा र किराँत धर्म साहित्य उत्थान संघका सचिव सरोज कङलिवाले उक्त निर्णयको विरोध गरेका छन् ।

कोशी प्रदेश सरकारले नामाकरण भएको खुशीयालीमा हिजो प्रदेशभर सार्वजनिक बिदा दिइसकेको छ । अरुले जति बिरोध गरे पनि दुई तिहाइभन्दा बढी मतले प्रदेशको नामाकरणमा कोशी जुराइसकेको छ ।

टिप्पणीहरू