विदेशी नागरिकता लिएकाको नेपाली नागरिकता खारेज नगर्न एनआरएनएको माग

विदेशी नागरिकता लिएकाको नेपाली नागरिकता खारेज नगर्न एनआरएनएको माग

गैरआवासीय नेपाली संघ (एनआरएनए), युकेले वंशजको आधारमा दिइने नेपाली नागरिकताको हैसियतलाई निरन्तरता दिन आग्रह गरेको छ । 

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्दै भूतपूर्व गोर्खा मुद्दा, वंशजको नेपाली नागरिकताको निरन्तरता, संघको विवादलगायत विषयमा जानकारी गराएका हुन् । 

सो क्रममा अध्यक्ष गाहामगरले मातृभूमि छाडेर विदेश जान बाध्य नेपालीहरुलाई सँधैका लागि नेपाली नै रहिरहन दिनको निम्ति नेपालको नागरिकता ऐन, २०६३ को दफा १० लाई पूर्णतः संशोधन गर्न जरुरी रहेको बताएका छन् । 

सोही ऐनको दफा १० को उपदफा (१) अन्तर्गत नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम नरहने व्यवस्था छ । 

नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको उल्लेख गर्दै एनआरएनएले नेपालीहरुले अन्य देशको नागरिकता लिएमा निजको नेपाली नागरिकता स्वतः खारेज नभई राजनीतिक अधिकार मात्रै निष्क्रिय हुने व्यवस्था गर्नुपर्ने माग राखेको छ । 

त्यस्तै, विदेश गएका नेपाली फर्किएर निश्चित समयका लागि नेपाल बसेपछि नागरिकता पुनः सक्रिय हुने प्रबन्ध मिलाउन एनआरएनएले भनेको छ ।

साथै, नेपाल, बेलायत र भारत सरकारबीच त्रिपक्षीय सन्धिमार्फत् भर्ती भई सेवाका लागि विभिन्न मुलुक पठाइएका भूतपूर्व गोर्खाहरुको नेपाली नागरिकता खारेज नगर्न जोडदार माग गरिएको छ । 

‘गौरवमय इतिहास बोकेका गोर्खा सेनाहरु विदेश बसेकै कारण र विदेशी नागरिकता लिएकै कारण उनीहरुको नेपाली वंशजको नागरिकता सँधैका लागि नखोसियोस् र वंशजको नेपाली नागरिकताको निरन्तरता रहिरहने व्यवस्था गर्नका लागि आग्रह गर्दछौं’, ज्ञापनपत्रमा भनिएको छ । 

नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशमा बसोबास गरेका नेपालीलाई स्वदेश फर्केर आफ्नो योग्यताअनुसार विभिन्न पदमा नियुक्ति लिई मुलुकको सेवा गर्ने अवसरबाट वञ्चित गरेकोमा एनआरएनएले दुःखेसो पोखेको छ । 

अध्यक्ष गाहामगरले यसलाई सच्चाएर सबै प्रकारका नियुक्तिहरुमा योग्यताको कदर गरी देशको सेवा गर्ने अवसर प्रदान गर्न अनुरोध गरेका छन् । वंशजको नेपाली नागरिकता निरन्तरता महाअभियान र गोर्खासहितको टिम अनिवार्य रुपमा संलग्न गराएर उच्चस्तरीय नागरिकता समिति गठन गर्नुपर्ने एनआरएनएको भनाइ छ ।

टिप्पणीहरू