होलीमा जथाभावी सवारी चलाउनेको संख्या ५९२ पुग्यो

फागु पूर्णिमा अर्थात् होलीको दिन काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लघंन गरेका झण्डै छ सय सवारी साधनलाई होल्डमा राखिएको छ । ट्राफिक प्रहरीले काठमाडौँका विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा नियम विपरित हाँकेका ५९२ सवारी साधनलाई होल्डमा राखिएको जानकारी दिएको छ । 

होल्डमा राखिएका सवारी साधनमध्ये २२ वटा चारपाङ्ग्रे र ५७० वटा दुईपाङ्ग्रे छन् । ट्राफिक प्रहरी उपरीक्षक (एसपी) प्रभु अभिनारायण काफ्लेका अनुसार हेल्मेट नलगाई बाइक चलाएका, मापसे गरेका, कागजपत्र नभएकालगायत अन्य ट्राफिक नियम उल्लंघन गरेका चालकको सवारी साधन समातिएको हो । 

होलीका दिन मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने कार्य पछिल्ला केही वर्षदेखि बढेकाले ट्राफिक जाँचमा कडाइ गरिएको उनले बताए । ट्राफिक कार्यालयले आज काठमाडौँ उपत्यकाका विभिन्न ६८ ठाउँमा ‘चेक प्वाइन्ट’ राखेको छ । त्यस्तै, होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउन ६०५ ट्राफिक प्रहरी खटिएका छन् ।

यसअघि दिउँसो साढे २ बजेसम्म काठमाडौं उपत्यकामा ४४५ सवारी साधन होल्डमा  राखिएका थिए । तीमध्ये १८ वटा चारपाङ्ग्रे र ४२७ वटा दुईपाङ्ग्रे थिए ।

टिप्पणीहरू