आजको जितसँगै विश्वकपमा नेपालको सम्भावना उत्तिकै

आजको जितसँगै विश्वकपमा नेपालको सम्भावना उत्तिकै

आइसीसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपालले युएईलाई पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले युएईलाई ४२ रनले हरायो । 

नेपालले दिएको दुई सय ३० रनको लक्ष्यलाई युएईले ४५ ओभरमा सबैै विकेटको क्षतिमा कुल एक सय ८७ रन मात्र बनाएपछि नेपाल विजयी भएको हो । नेपालका सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले तीन तीन विकेट लिएका थिए भने आरिफ शेख, करण केसी र सन्दीप लामिछानेले एक एक विकेट लिएका हुन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय २९ रन बनाएको थियो । भीम सार्कीले सर्वाधिक ७० रन बनाए । भीमको यो नै एकदिवसीयमा पहिलो अर्धसतक हो । 

त्यस्तै कुशल मल्लले ३२, सन्दीपले २७, करण केसीले १७, प्रतिश जिसीले अविजित ११, ओपनर ज्ञानेन्द्र मल्लले ११ र आशिफ शेखले ६ रन बनाएका हुन् । यो जितसँगै नेपालले ३२ अंक बटुलेर पाँचौं स्थान लिएको छ । यसअघि पाँचौंमा रहेको युएई छैटौं स्थानमा पुगेको छ ।

टिप्पणीहरू