सन्दीप फर्किंदा कप्तान खुशी

सन्दीप फर्किंदा कप्तान खुशी

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले स्पिनर सन्दीप लामिछानेको आगमनले टोलीलाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन् । 

टि-२० विश्वकपअन्तर्गत भोलि हुने श्रीलंकाविरुद्धको खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले लामिछाने टिममा भित्रिएपछि नेपाललाई राम्रो हुने अपेक्षा गरेका हुन् । विकेट टेकर बलरको रुपमा उनको क्षमता र अनुभव नेपाली टिमका लागि महत्वपूर्ण हुने कप्तान पौडेलको भानाई छ । 

वेस्ट इण्डिजको पिच स्पिन बलरका लागि राम्रो रहेको र लामिछानेको उत्कृष्टतामा नेपालले श्रीलंकालाई जित्ने सक्ने उनको विश्वास छ । श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति बनाएको पनि पौडेलले बताए । 

'वेस्टइण्डिजको पिच एकदमै स्पिनरका लागि राम्रो छ । विकेटटेकर बलर एड भएको छ, अनुभव पनि छ, दाईको टि २० मा । अब राम्रो हुनेछ', उनले भने । 

विश्वकपका सबैजसो खेलमा ठूलो रनको योगफल नबनिरहेको सन्दर्भमा उनले भोलिको खेलमा १४० सम्मको स्कोर बनाउने टिमले जित्न सक्ने अनुमान गरेका छन् ।पौडेलले श्रीलंकासँगको खेललाई लिएर टिम उत्साहित रहेको पनि बताए । 

अमेरिकाले भिसा नदिएपछि त्यहाँ हुने विश्वकपका खेल गुमाएका लामिछाने वेष्ट इन्डिज पुगिसकेका छन् ।  त्यहाँ नेपालले साउथ अफ्रिका र बंगलादेशसँग खेल्नेछ । भोलि श्रीलंकासँग खेलेर नेपाली टोली वेस्ट इन्डिज जानेछ ।

टिप्पणीहरू