सिआइबीका सूचकको शंकास्पद मृत्यु,शव नजिकै बिस्फोटक पदार्थ
बझाङमा कार्यरत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एक जना सूचकको मृत्यु शंकास्पद देखिएको छ । बैतडीमा पिकनिक मनाउन गएका जीवन बुडालको शव नजिकै बिस्फोटक पदार्थ फेला पर्नुलाई रहस्यमय ठानिएको छ ।
उनी बिदामा घर आएको बखत साथीभाइसँग पिकनिक गएका थिए । दशरथचन्द नगरपालिका–१० खडेनीका बुडालको शव फागुन १३ गते शनिबारका दिन दोगडाकेदार–४ जाडाबगडस्थित चमेलिया नदी किनारमा फेला परेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उक्त घटनाको अनुसन्धान थालिएको जनाएको छ भने शवको भिसेरा परीक्षणका लागि काठमाडौं पठाइएको छ ।
उता मृतकका परिवारले पिकनिकमा गएका बुडालको मृत्युलाई रहस्यमय बताएको छ । परिवारले पिकनिक गएकामध्ये १२ जनाको नाममा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय,बैतडीले जनाएको छ । पिकनिक गएकामध्ये गजेन्द्र रावल, अर्जुन रावल,केशव रावल,भीम ठगुन्ना, भुवनराम लुहार,दिपेन्द्र ऐरी,श्याम ऐरी,पुष्पराज भट्ट,नवीन ठगुन्ना, नारायण ऐरी,टेक खत्री र मोहन ठगुन्नाका नाममा ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिइएको छ ।
प्रहरीले उनीहरु सबैलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ । अनुसन्धानका क्रममा बिस्फोटक पदार्थ फेला परेकाले उनीहरुसँग त्यसबारे पनि बयान लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उक्त पदार्थ जिलेटिन रहेको जोशीले जानकारी दिए ।
टिप्पणीहरू