स्ववियु चुनावको लफडाले अनिश्चितकालीन तालाबन्दी

स्ववियु चुनावको लफडाले अनिश्चितकालीन तालाबन्दी

पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनलाई लिएर विवाद भएको छ । मतदाताको नाम टुङ्गो नलाग्दै नामावली प्रकाशन गरेको भन्दै विभिन्न विद्यार्थी संगठनले क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन् ।अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी (छैठौं), अखिल क्रान्तिकारी (विप्लव), अखिल क्रान्तिकारी (संयुक्त) ले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

निर्वाचन समिति र क्याम्पस प्रशासनको मिलोमतोमा अमूक विद्यार्थी संगठनलाई व्यक्तिगत विवरण चुहावट गर्ने काम भएको उनीहरुको आरोप छ । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचन निष्पक्ष तरिकाबाट सम्पन्न हुने विषयमा शंका उत्पन्न भएको बताएका छन् । 

‘मतदाता नामावली प्रकाशनको सन्दर्भमा अन्तिम टुङ्गो नहुँदै केही अमूक विद्यार्थी संगठनलाई मतदाता नामावली पत्रमा नाम, ठेगाना, सम्पर्क नम्बरसहितको व्यक्तिगत विवरणहरु चुहावट गराई निर्वाचनलाई प्रभावित पार्ने गतिविधि स्ववियु निर्वाचन समितिबाटै गरिएको हुँदा स्ववियु निर्वाचन निष्पक्ष हुन्छ भन्ने कुरामा शंका उत्पन्न भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयमार्फत तलबभत्ता लिने शिक्षक, प्राध्यापक र कर्मचारीले आसन्न निर्वाचनमा मतदान गर्न नपाउने व्यवस्था गर्न पनि विद्यार्थी संगठनहरुको माग छ । साथै, गत फागुन १८ र १९ गते दर्ता भएका संघ, संगठन र समूहको नामावली जस्ताको त्यस्तै पुनः प्रकाशन गर्न उनीहरुले माग गरेका छन् ।
 

टिप्पणीहरू