उपराष्ट्रपति पत्नीले काठमाण्डौ आएर पनि गाई पाल्न नछाड्ने

उपराष्ट्रपति पत्नीले काठमाण्डौ आएर पनि गाई पाल्न नछाड्ने

उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवले आफू विजयी भएपछि पनि सामान्य जीवन यापन गर्ने बताएका छन् । संघीय संसद भवनस्थित मतदानस्थल परिसरबाट आफ्नो विगत सम्झँदै उनले उपराष्ट्रपति पदमा रहँदा आफ्ना लागि उच्चस्तरको जीवन जिउने विषय प्राथमिकतामा नपर्ने बताएका हुन् ।  

सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार रहेका यादव जीत नजिक रहेको चर्चाबीच उनले आफ्नो राजनीतिक जीवनको स्मरण पनि गरेका छन् । त्यसक्रममा उनले झण्डै १७ वर्ष कलैयाको स्कुलमा अध्यापन गरेको सम्झना गरे । त्यस्तै, खेती किसानी गरेको, हलो जोतेको विगत स्मरणमा ताजै रहेको भन्दै उनले उपराष्ट्रपति भएर पनि ती दिन नभुल्ने वाचा गरेका हुन् । 

श्रीमती चम्पादेवी यादव एक्लैले खेतीपातीको काम गरेर आफूलाई राजनीतिमा आउन सघाएको भन्दै उनले उपराष्ट्रपति भएर काम गर्ने अवसर मिले काठमाडौँमा पनि गाई पाल्ने बताएका छन् । अहिले पनि श्रीमती र परिवारका सदस्यहरु पुख्र्यौली पेशामा रमाइरहेको भन्दै उनले काठमाडौंमा बस्न सहज नहुने कुरो खुलाए ।

यादवले आफू विजयी भएपछि संविधानको रक्षा र राष्ट्रिय एकता कायम राख्न विशेष जोड दिने बताएका छन् ।
 

टिप्पणीहरू