‘नाती मार्सी’ देशद्रोही रहेको एमाले अध्यक्षको ठहर

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका पूर्वकेन्द्रीय सदस्य दुर्गा प्रसाईंले चलाइरहेको बैंक तथा वित्तीय संस्थाविरुद्धको अभियानलाई ‘देशद्रोह’ संज्ञा दिनुभएको छ । 

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा ओलीले आफूलाई हजुरबुबा भनेर सम्बोधन गर्ने प्रसाईंको नाम उल्लेख नगरी देशद्रोही अभियान चलिरहँदा पनि सरकारले नियन्त्रण गर्न नसकेको भन्दै चर्को असन्तुष्टि व्यक्त गर्नुभयो । त्यसक्रममा उहाँले यस्ता देशद्रोही गतिविधिलाई सरकारले तत्काल नियन्त्रणमा नलिए जनताले प्रतिकार गर्ने पनि चेतावनी दिनुभयो ।  

मार्सी उपनामले प्रख्यात प्रसाईं पछिल्लो समय पूर्वराजपरिवारलाई देखाएर बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनमा छन् । बैंकबाट अरबौँ ऋण लिएर त्यसको साँवा, ब्याज नतिरेको आरोप लागिरहेका उनी ‘वित्तीय पीडित’ का नाममा मान्छे बटुलेर संविधान र राजनीतिक व्यवस्थामाथि नै धावा बोलिरहेका छन् । केही समयअघि उनले एक सार्वजनिक कार्यक्रममा मुलुक अर्कै देशलाई दिनुपर्ने आशयको अभिव्यक्ति दिएका थिए । 

त्यसप्रति टिप्पणी गर्दै ओलीले साग र साईकल सस्तोमा पाईन्छ भनेर देश नै अर्को देशमा मिसाई दिने अभिव्यक्ति दिनेलाई सरकारले किन नियन्त्रणमा लिन नसकेको भनि प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले त अचम्म लाग्छ–सरकारको नोटिसमा छ कि छैन, सरकारले गराएको हो कि होइन ? एउटा मान्छे कुद्छ, दुईटा मान्छे कुद्छ, एक हुल मान्छे कुद्छ । केही पेड मान्छेहरु थपडी बजाउन त्यहाँ पठाइन्छ । यो देश सार्वभौमसत्ता सम्पन्न राष्ट्र राख्नभन्दा विदेशीलाई बुझाई दियो भने, सुम्पिदियो भने साग सस्तो पाइन्छ, साईकल सस्तो पाइन्छ ।’

अध्यक्ष ओलीले यस्तै रवैया रहिरहने र सरकारले नियन्त्रण नगर्ने हो भने जनताले प्रतिवाद गर्ने पनि बताउनुभयो । ‘किन यो देश राख्ने भन्छ ? सरकार सुन्छ कि सुन्दैन? यो देशको सन्तान भन्न पनि नसुहाउने, देशद्रोही कुरा गरेर मान्छे हिँडिराख्या छ । सरकारले लगाएको हो कि नलगाएको हो? सरकार सुन्छ कि सुन्दैन ? के यही प्रचार, यही अभियान जनताले प्रतिवाद गर्न नपरोस्,’ उहाँको चेतावनी छ । 

मार्सी तिनै व्यक्ति हुन् जसलाई ओली आफैँले राजनीतिक रुपमा माथि तान्नुभएको आरोप लाग्ने गरेको छ । ‘जता शक्ति उतै भक्ति’ मा कुद्ने मार्सी अघिल्लो महिनासम्म एमालेको केन्द्रीय सदस्य थिए । अध्यक्ष ओलीलाई खुशी तुल्याएवापत प्राप्त भएको उक्त पदबाट एमालेले उनलाई हालै निकालेको हो । 

एमाले र माओवादीबीच पार्टी एकता हुनुपूर्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसक थिए, मार्सी । नेकपाकालमा दुवै अध्यक्षलाई रिझाएर आफ्नो हितमा काम लिन सफल भएका उनी प्रचण्ड र ओलीलाई आफ्नै घरमा बोलाएर मार्सी चामलको भात खुवाएपछि उनको परिचय फेरिएर मार्सी बनेको हो । 

नेकपा विभाजन भएर एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किएपछि मार्सी एमालेतिर लागे र ओलीको प्रशंसामा उत्रिए । त्यसवापत एकैचोटी एमालेको केन्द्रीय सदस्य भए । गत चुनावमा उनी झापाबाट उम्मेदवार हुन् चाहन्थे । तर, एमाले र राप्रपाबीच चुनावी तालमेल हुँदा उनले चाहेको क्षेत्र राप्रपाको भागमा पर्यो र राजेन्द्र लिङ्गदेन त्यहाँ उम्मेदवार बने । 

त्यसपछि ‘हजुरबा’ सँग ठुस्किएका मार्सी अहिले राजतन्त्र फर्काउने भन्दै ’ऋण मोचन’ अभियानमा निस्किएका छन् ।

टिप्पणीहरू