हजुरबादेखि प्रचण्डसम्मको विकल्प मै हुँ : मार्सी

हजुरबादेखि प्रचण्डसम्मको विकल्प मै हुँ : मार्सी

तत्कालीन नेकपाका दुई पाइलट हालका प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जुम्लाको मार्सी चामलको भात खुवाएर चर्चामा आएका पूर्वेली व्यापारी दुर्गा प्रसाईंले बागमती प्रदेशको राजधानी हेटौँडा पुगेर आत्महत्याको श्रृंखला रोक्न आफूले भूमिका निर्वाह गरेको दाबी गरेका छन् । 

‘त्यै एउटा भाईले काठमाडौंमा जलेर ज्यान फाले अनि अर्काेले हाम्फालेर ज्यान फाले’, प्रसाईंले भने–‘आत्महत्या गर्नेतिर तपाइहरु नजानुहोस्, दुर्गा प्रसाईंको फोटो सिरानीमा राखेर सुत्नुहोस् सबै ठीक हुन्छ ।’ 

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको हेटौंडाकै सबैभन्दा महँगो होटल मानिएको सामना होटलको छैठौँ तल्लामा आयोजित भेलामा बोल्दै प्रसाईंले राजनीतिक दलहरुको संगत गर्दा गर्दा आफू आजित भएर यस्तो अभियानमा लागेको सुनाए । बैंकले ब्याज घटाउनुपर्ने, लघुवित्त पीडितहरुको आवाज सरकारले सुनिदिनुपर्नेलगायत एजेण्डाबारे बोल्दै प्रसाईंले यी सबै काम राजनीतिक दलहरुले गर्न नसकेकाले आफू अघि बढेको दाबी गरेका हुन् ।

‘मेरा हजुरबुबा (केपी ओली), प्रचण्ड, शेरबहादुर कसैले पनि जनताको समस्याबारे ध्यान दिएनन्, आफू र आफ्ना आफन्तलाई मात्रै सजिलो हुने कुरा नै यिनीहरुको समाजवाद रहेछ’, उनले कटाक्ष गर्दै भने–‘अब देशमा राजनीतिक पार्टीको भविष्य सकियो, हजुरबुबा, प्रचण्ड, शेरबहादुर सबैको विकल्प भनेको दुर्गा प्रसाईं मात्रै हो ।’ 

उनले आफू आठराईमा जन्मेको कुमाई भएकाले रवि लामिछाने, राजेन्द्र लिङ्देनजस्तो आत्मसमर्पण गर्ने मान्छे नभएको पनि बताए । आफ्नो अभियानदेखि डराएर रबि लामिछानेहरुलाई जस्तै कहीँकतैबाट अप्ठ्यारो पार्ने षड्यन्त्र समेत सुरु भएको उनको भनाइ छ । ‘पुससम्मको ब्याज तिरिसकेको छु, अरु महिनाको के हुन्छ हेरौँ, मै रहन्छु कि रहन्न ? नेपाल नै रहन्छ कि रहँदैन ? पृथ्वी नै ध्वस्त हुन्छ कि ?’, उनले भने, ‘यसै भन्न सकिने अवस्था छैन ।’

व्यापारीहरु डिप्रेसनमा गएको भन्दै प्रसाईंले श्रीमान श्रीमती एकै बेडमा सुत्दा पनि श्रीमती अकातिर र श्रीमान अर्केतिर फर्केर रात काट्ने अवस्था रहेको प्रसाईंले उल्लेख गरे । मञ्चमा रहेकी राजावादी पत्रकार रमा सिंहतिर हेर्दै उनले भने–‘यस्तो कुरा गर्दा त दिदी पनि हाँस्नुहुँदोरहेछ ।’ 

उनले मन्तव्य व्यक्त गरिरहँदा व्यापारी र लघुवित्त पीडितहरुले बेलाबेलामा  प्रश्न गरेका थिए । तर आक्रामक र अशिष्ट शब्द प्रयोग गर्दा पर्रर ताली बजाएका थिए ।

टिप्पणीहरू