रानीपोखरी सबैलाई खुला, बिहानको समयमा घुम्न पाइने
काठमाडौं महानगरपालिकाले ऐतिहासिक रानीपोखरी सर्वसाधारणको लागि खुला गरेको छ ।
२०७२ को महाभूकम्पले क्षतिग्रस्त भई नेपाल सरकार, राष्ट्रिय पुनःर्निमाण प्राधिकरणद्धारा पुनःर्निमाण सम्पन्न भएको रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि खुला गरिएको हो । एक हप्ताअघिदेखि सञ्चालनमा आएको रानीपोखरीभित्र जानलाई टिकट काट्न नपर्ने महानगरले जनाएको छ । बिहान ६ बजेदेखि ८ बजेसम्म रानीपोखरीको अवलोकन गर्न पाइने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।
विशेषतः मर्निङ्ग वाकमा जानेहरुलाई लक्षित गरेर रानीपोखरी खुला गरिएको उनको भनाइ छ । ‘सर्वसाधारणका लागि रानीपोखरी खोलेको एक साता भइसकेको छ । बिहान मर्निङ वाकमा जानेहरुलाई लक्षित गरेर रानीपोखरी सञ्चालनमा ल्याएका हौं । सर्वसाधारणले बिहान ६ बजेदेखि ८ बजेसम्म त्यहाँको अवकोलन गर्न पाँउछन्’, उनले भने ।
२०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरी लामो समयपछि खुला गरिएको हो । रानीपोखरीलाई पुनःनिर्माण गरेर पुरानै स्वरुपमा फर्काइएको छ । तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७८ पुस ८ गते महानगरलाई रानीपोखरी हस्तान्तरण गरेतापनि सर्वसाधारणका लागि खुला गरिएको थिएन् ।
लामो समय बन्द हुँदा र मर्मतसम्भार नहुँदा झारपात उम्रिएर रानीपोखरी कुरुप बनेको थियो । हाल महानगरले सरसफाइ गरेर रानीपोखरी चिटिक्क बनाएको छ ।
टिप्पणीहरू