विश्व बैंकले नेपालको शैक्षिक क्षेत्र सुधार्ने
विश्व बैंकले नेपाल सरकारलाई १२ करोड डलर अनुदान दिने भएको छ । मुलुुकको शैक्षिक क्षेत्र सुधारको निम्ति बैंकले उक्त सहयोग गर्न लागेको बताइएको छ ।
नेपाल सरकारले सञ्चालन गरेको ‘विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रम’ का लागि बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त अनुदान स्वीकृत गरेको जानकारी दिइएको छ । उक्त अनुदानले गुणस्तर शिक्षा प्रवाहमा मद्दत पुग्ने अपेक्षा राखिएको छ ।
यसले विशेषतः स्थानीय स्तरमा शिक्षक निर्देशन प्रणाली स्थापना गरी विषयगत शिक्षकहरु (अंग्रेजी, गणितलगायत विषयहरु) को सुनिश्चितता गर्नेछ । ‘गुणस्तर शिक्षामा लगानी मानव पूँजीको विकासमा महत्वपूर्ण छ । शिक्षित व्यक्तिले आर्थिक वृद्धिको सुनिश्चित गर्न सक्छ । यस योजनाले नयाँ संघीय राज्यको महत्वाकांक्षा पूरा गर्न, शिक्षामा गुणस्तर र समतामूलक पहुँच बढाउन नेपाल सरकारको दृष्टिकोणलाई पूर्ण समर्थन गर्दछ’, माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि बैंकका निर्देशक फारिस हदाद जेर्भोसले भने ।
नेपाल सरकारले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय एकीकृत पाठ्यक्रम लागु गरेर आधारभूत सीपहरुमा सुधार गर्ने योजना छ । त्यस्तै, विद्यालय भवन, कक्षा कोठाको निर्माण, डिजिटल शिक्षण प्रणाली, एक्सेलेरेटेड लर्निङ प्लानिङतर्फ कार्यक्रम केन्द्रीत छ । साथै, कक्षा ६ देखि ८ सम्मका विपन्न विद्यार्थीलाई लक्षित गरी छात्रवृत्तिको व्यवस्थासमेत गरिएको छ ।
टिप्पणीहरू