एमाले नेतृत्वका प्रदेश सरकारहरु धरापमा, कोशीमा माओवादीले तत्काल निर्णय नगर्ने

एमाले नेतृत्वका प्रदेश सरकारहरु धरापमा, कोशीमा माओवादीले तत्काल निर्णय नगर्ने

केन्द्रमा सत्ता समीकरणमा फेरबदल भएसँगै प्रदेश सरकारहरु धरापमा पर्न थालेका छन् । संघीय सरकार छाडेर प्रतिपक्षमा बसेको एमालेले प्रदेशमा सत्ता साझेदार दलहरुले समर्थन गुमाएपछि ती सरकारहरु धरापमा परेका हुन् । 

माओवादीसहित त्यतिबेलाको सातदलीय गठबन्धनका दलहरुको समर्थनमा एमालेले चारवटा प्रदेशमा मुख्यमन्त्री पाएको थियो । तीमध्ये नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएका कारण एमाले नेतृत्वको सुदूरपश्चिम सरकार यसअघि नै ढलिसकेको छ भने गण्डकी र लुम्बिनी सरकार अल्पमतमा परेका छन् । 

माओवादी केन्द्र र जनमत पार्टी एमाले नेतृत्वको लुम्बिनी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री लिला गिरीले बहुमत गुमाएका छन् । प्रदेश सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी र जनमतका सीके गुप्ता मन्त्री थिए । उनीहरुले आज मन्त्री पदबाट राजीनामा दिएका हुन् । 

अस्ति गण्डकीमा खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी माओवादीका दुई जना मन्त्रीले राजीनामा दिएका थिए । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान भौतिक पूर्वाधारमन्त्री र तथा सांसद रेसमबहादुर जग्जाली उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री थिए । उनीहरुले राजीनामा दिएपछि अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

कोशी प्रदेशमा भने माओवादीले तत्काल सरकार नछाड्ने बताउँदै आएको छ । प्रदेशको नामकरणको विवादले त्यहाँको राजनीति बिथोलिएकाले माओवादी तत्काल नयाँ समीकरण बनाउने पक्षमा देखिएको छैन । तर प्रदेशसभाको अंक गणितले एमाले सरकार जोगिने सम्भावना अत्यन्तै न्यून छ ।

टिप्पणीहरू