सांसद र स्वकीयको तलब कट्टा गरेर खेलाडीलाई थपिदिन सांसदको माग

सांसद र स्वकीयको तलब कट्टा गरेर खेलाडीलाई थपिदिन सांसदको माग

पूर्वपञ्चहरुको पार्टी राप्रपाका सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर राष्ट्रिय खेलाडीको तलबमा थपिदिन माग गरेका छन् । 

आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रलाई चिनाउने खेलाडी पलायन हुने स्थिति बढेको भन्दै उनीहरुको पारिश्रमिक बढाउन प्रस्ताव गरेका हुन् । त्यसक्रममा शाहीले देशलाई विश्वमा चिनाउने खेलाडीको तलब मन्त्रीका स्वकीय सचिवको भन्दा पनि कम रहेको भन्दै तत्काल बढाउन माग गरेका हुन् । बजेटमा खेल क्षेत्रले प्राथमिकता पाउन नसकेको भन्दै उनले मन्त्री र सांसदका स्वकीय सचिवको पारिश्रमिक कटौती गरेर भए पनि खेलाडीको तलब बढाउन सुझाव दिए । 

‘राष्ट्रलाई चिनाउने खेलाडी हुन् । तर, उनीहरु पलायन भएका छन् । राष्ट्रिय फुटबल टोलीका कप्तान भइसकेका सुजल श्रेष्ठ अष्ट्रेलिया पलायन भए । भक्तपुरका बागेश्वरी विद्यालयका १२ कक्षामा पढ्ने विद्यार्थी छुट्टिने बेलामा खाडीमुलकमा भेटौँला लेखे,’ उनले भने, ‘राष्ट्रलाई चिनाउने खेलाडीको पारिश्रमिक मन्त्रीका स्वकीय सचिवको भन्दा कम छ । बरु हामी सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर भए पनि खेलाडीको तलब बढाउनुपर्छ ।’

टिप्पणीहरू