राप्रपा उपचुनावमा एक्लै भिड्ने,जिताउन यी कमाण्डर कस्सिने

राप्रपा उपचुनावमा एक्लै भिड्ने,जिताउन यी कमाण्डर कस्सिने

पूर्वपञ्चहरुको पार्टी राप्रपाले बैशाख १० को उपचुनावमा तीन वटै क्षेत्रबाट  प्रतिस्पर्धा गर्ने भएको छ । आज बसेको केन्द्रीय पदाधिकारी बैठकले उपचुनाव हुने तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको हो । 

बैठकले निर्वाचन परिचालनका लागि बारा-२ मा उपाध्यक्ष बुध्दिमान तामाङ, चितवन-२ मा उपाध्यक्ष बिक्रम पाण्डे र तनहुँ-१ मा कोषाध्यक्ष निलकण्ठ काफ्लेलाई कमाण्डरसमेत तोकेको छ । सत्तामा रहेका काँग्रेस,माओवादी, जसपा र एकीकृत समाजवादी मिलेर उपचुनावमा जाने चर्चाका बीच मङ्सिर चारको निर्वाचनमा एमालेसँग तालमेल गरेको राप्रपाले एक्लै प्रतिष्पर्धामा उत्रिने निर्णय गरेको हो । त्यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनावमा तालमेल नगर्ने निर्णय गरिसकेको छ । 

सत्तापक्षीय दलहरु र नेकपा एमालेले भने अहिलेसम्म औपचारिक निर्णय गरिसकेका छैनन् । बैशाख १० मा चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा उपचुनाव हुँदैछ । रवि लामिछाने नागरिकता अवैध ठहरिएपछि उनको सांसद पद खारेज भएसँगै चितवन–२ रिक्त भएको हो ।

त्यस्तै, तनहुँ–१ का सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि ति क्षेत्र पनि रिक्त भएका हुन् ।

टिप्पणीहरू