नयाँ शैक्षिक सत्र मुखैमा, विद्यार्थीका पुस्तककाे अन्योल उस्तै
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्र १ देखि ५ कक्षासम्मको पाठ्यपुस्तक निजी प्रकाशकलाई छाप्न दिने निर्णय गत पुस २९ गते गर्यो । यसअघि विद्यालय तहको पाठ्यपुस्तक छपाईको जिम्मा लिँदै आएको जनक शिक्षा सामग्री केन्द्रले समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन नसकेपछि उक्त निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
हरेक वर्ष हुँदै आएको पाठ्यपुस्तकको अभाव हटाउन सरकारले निजी क्षेत्रलाई पनि छपाईको जिम्मेवारी दिँदै आएको छ । केन्द्रले तोकिएको समयमा विद्यार्थीलाई सहज तवरले पाठ्यपुस्तक उपलब्ध गराउने भने पनि ग्रामीण भेगका कतिपय विद्यालयमा शैक्षिक सत्रको अन्तिमसम्म समेत पाठ्यपुस्तक पुग्न सकिरहेको छैन । पाठ्यपुस्तक अभावका कारण विद्यार्थीहरुले विभिन्न समस्या खेप्नु कुनै नौलो पनि भएन ।
नेपाललगायत विश्वका अधिंकाश देशमा यसअघिका तीन वर्ष कोभिड–१९ भाइरसले पारेको प्रभाव अहिले पनि यथावत छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ चैत ११ गतेदेखि कोरोना महामारी नियन्त्रणको नाममा मुलुकभर लकडाउन गर्ने घोषणा गर्यो । जुन नेपालको इतिहासमा पहिलोपटक मुलुकले औपचारिक रुपमा बन्दाबन्दी घोषणा गर्ने निर्णय गरेका थियो ।
लकडाउनकै समयमा शैक्षिक संस्था, धार्मिक संस्था, पर्यटन उद्योग, कारखाना, होटेल, रेस्टुरेन्टलगायत क्षेत्र लामो समयसम्म बन्द भए । विद्यालयमा वैकल्पिक प्रणालीबाट पठनपाठन थालिए पनि ग्रामीण बस्तीमा इन्टरनेट अभावका कारण विद्यार्थीहरु शिक्षाबाट लामो समयसम्म वञ्चित भए ।
कोभिडअघि तीक्ष्ण रहेका विद्यार्थीहरुको समेत शैक्षिक गुणस्तर खस्कँदै गयो । पाठ्यपुस्तक अभावले कतिपय विद्यार्थीको पढाइप्रतिको मनोबल समेत घटेको पाइएको छ । अहिले पनि ग्रामीण भेगका अधिकांश विद्यालयका विद्यार्थीको हातमा तोकिएका पुस्तक छैनन् । पुस्तकबिनै परीक्षा दिन उनीहरु बाध्य छन् ।
जनक शिक्षा सामग्री केन्द्र विद्यार्थीको भविष्यप्रति गैरजिम्मेवार हुँदा यस्तो समस्या उत्पन्न हुने गरेको शिक्षाविद्हरुको आरोप छ । ‘विद्यालय तहको पाठ्यपुस्तक छपाईको जिम्मेवारी लिँदै आएको केन्द्रले पुस्तक छपाईमा सँधै ढिलासुस्ती गर्दै आएको छ । वार्षिक परीक्षा सुरु हुँदासमेत विद्यार्थीको हातमा पुस्तक हुँदैन,’ एक शिक्षाविद्ले भने । सरकारले पाठ्यपुस्तक छपाईको जिम्मा केन्द्रलाई दिए पनि सम्बन्धित निकायले अनुगमन नगरेको कारण यस्तो परिस्थिति आएको उनको बुझाइ छ । उनले भने, ‘सम्बन्धित निकाय विद्यार्थीको भविष्यप्रति जिम्मेवार हुन आवश्यक छ । सरकारले सोचविचार गरेर मात्र पाठ्यपुस्तक छपाईको जिम्मा दिनुपर्छ ।’
यता जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले गत वर्ष निर्वाचनको मतपत्र छपाईका कारण कागज समयमा नआउँदा पुस्तक छपाईमा केही समस्या आएको बताए । ‘गत वर्ष मतपत्र छपाई भयो । कागज समयमा नआउँदा अभावका कारण केही समस्या आएको हो । तर यो वष कुनै समस्या छैन,’ उनले भने ।
यो वर्ष कक्षा ६ देखि १० सम्मका एक करोड ५० लाख थान पुस्तक छपाईको जिम्मा केन्द्रले पाएको छ । उनले शैक्षिकसत्र सुरु हुनुअगावै विद्यालयमा पाठ्यपुस्तक पुर्याउने दाबी गरेका छन् । ‘यसवर्ष केन्द्रले ६ देखि १० कक्षासम्मको मात्र पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको छ । एक करोड ५० लाख थान पुस्तकमध्ये एक करोड ३५ लाख थान छापिसक्यौं ।’
बाँकी १५ लाख थान पुस्तक केही दिनभित्रै छापेर जिल्ला पठाइने केन्द्रको दाबी छ । प्रबन्ध निर्देशक झाले एक लाख २५ हजार थान पुस्तक छाप्दै आएको बताए । उनका अनुसार यही चैत २० गतेदेखि पुस्तक बिक्री थालिने छ । आगामी दुई दिनभित्र पुस्तक सबै जिल्लामा पुर्याइने छ । मुलुकभर १२ सय पुस्तक वितरण केन्द्र छन् ।
हिमाली र दुर्गम पहाडी जिल्लामा पुस्तक पुर्याउन एक हप्तासम्म लाग्ने गरेको छ । यो वर्ष सरकारले निजी प्रकाशकलाई १ देखि ५ कक्षासम्मको एक करोड २० लाख थान पुस्तक छपाइको जिम्मा दिएको छ । तर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त निर्णय नगरेको भए पनि आफूहरुले उक्त पुस्तक समेत समयमै छापेर वितरण गर्न सक्ने अवस्थामा रहेको झाको दाबी छ ।
पाठ्यपुस्तकको मूल्य यो वर्ष पनि पुरानै कायम हुने छ । कक्षा १ देखि ३ सम्मको प्रतिपृष्ठ ६० पैसा, कक्षा ४ देखि १० सम्मको प्रतिपृष्ठ ५५ पैसा र कक्षा १ को पाठ्यपुस्तकको मूल्य १०८ रुपैयाँ ८ पैसा कायम गरिएको छ । कक्षा ९ का ऐच्छिक विषयका पुस्तक रंगीन प्रतिपृष्ठ ३६ पैसा, बहुरंगी र अंग्रेजी माध्यमका पाठ्यपुस्तकको मूल्य प्रतिपृष्ठ ३६ पैसा कायम गरिएको जानकारी केन्द्रले दिएको छ ।
टिप्पणीहरू