वडाध्यक्ष कुटिएकोमा काँग्रेस क्रुद्ध
मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि पौडेल कुटिएको घटनाप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । काँग्रेस जिल्ला सदस्यसमेत रहेका पौडेललाई आज पहिचान पक्षधर आन्दोलनकारीको एउटा समूहले कुटपिट गरेको थियो । मोरङ कांग्रेसले विज्ञप्ति निकालेर घटनाको निन्दा र भर्त्सना गरेको हो ।
शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने संवैधानिक अधिकार हुँदाहुँदै जनप्रतिनिधिमाथि कार्यकक्षमा कुटपिट हुनु अत्यन्तै निन्दनीय कार्य भएको कांग्रेसको उर्लाबारी नगर कार्यसमितिका कार्यवाहक सभापति राजन रायमाझीले बताए । त्यस्तै, उनले कुटपिटमा संलग्नलाई तुरुन्त कारबाही गर्न माग गरेका छन् ।
‘शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने संवैधानिक अधिकार हुँदाहुँदै जनप्रतिनिधिमाथि आफ्नै कार्यकक्षमा कुटपिट हुनु निन्दनीय र दण्डनीय रहेको छ भन्ने हाम्रो मान्यता रहेको छ’, जारी विज्ञप्तिमा भनिएको छ,‘कुटपिटमा संलग्न व्यक्तिहरु माथि तुरुन्त छानबिन गरी कडा कानुनी कारबाही गरियोस् भनि सम्बन्धित निकायसंग जोडदार माग गर्दछौं ।’
कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारीले आज वडाध्यक्ष पौडेललाई कुटपिट गरेका थिए । कार्यालय खोलेको भन्दै आन्दोलनकारीबाट कुटिएका वडाध्यक्ष पौडेल सामान्य घाइते भएका छन् ।
टिप्पणीहरू