हडबडमा शहीदका धेरै कुरा गडबड
‘दाङका माओवादीले नचिन्ने हुनुभएछ बुबा । आज राष्ट्रिय शहीद हुनबाट वञ्चित गरियो हाय ! अब कसलाई अपराधी भनौं ? अपराधी को हो ? सायद माओवादमा ब्राह्मणवाद मिसाइदिएको भए छुट्दैनथ्यो होला ?’ पीडा र आक्रोशमिश्रित यो लेखनी श्रीराम गिरीको हो । नेपाल सरकारले फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको शहीदको नाम सूचीमा माओवादी कार्यकर्ता भई मृत्युवरण गरेका पिताको नाम नपरेपछि उनले प्रमाणसहित दुखेसो व्यक्त गरेका हुन् । यसरी शहीदको सम्मानभन्दा बढी अपमान गर्न खोजिएको महसुस शहीद परिवारले गरेका छन् । यस्ता गुनासो गर्नेहरू चक्रबहादुर मटेलीलाई अघि सार्छन् । सरकारले शहीद घोषणा गरेका मटेली जिउँदै छन् । जान्ने–सुन्नेका दाबीअनुसार उनीबाहेक सिन्धुलीका सुरेशभद्र कोइराला (वशिष्ठ) पनि जागै छन् । यसले सरकारलाई जिउँदो मान्छेलाई शहीद बनाउने हतारो लागेजस्तै देखिएको छ ।
जनमुक्ति सेनाका लडाकु कमाण्डरको नाम शहीदको सूचीमा नभए पनि माओवादीले सुराकीको आरोपमा मारेका, माओवादीको विरोध गर्ने र चन्दा नदिँदा मारिएका मान्छेको नाम पनि राजपत्रमा प्रकाशन भएको छ । कतिपयको जातै खुट्याउन सकिँदैन । जस्तै रोल्पाली शहीदको १९ नम्बरमा धावाङ २ का खुइते बि. लेखिएको छ । यी दुवै शब्दमध्ये नाम तुच्छ र हेपाहा प्रवृत्तिको अनि थर अस्पष्ट छ । यसबाट शहीदलाई सम्मानको बदला अपमान गर्न सरकार अघि सरेको दुखेसो गरिएको छ । उनी २०५९ भदौ ६ गते मारिएका थिए । उता, स्याङ्जा थुमपोखराका कुश्माकरको थर नै गायव छ । उनी २०६१ असोज १० गते सशस्त्र प्रहरीद्वारा बेपत्ता बनाई मारिएका थिए । त्यसैगरी २०५८ साल भदौ २१ गते मारिएका बाग्लुङ दर्लिङ्का भक्तबहादुरको पनि थर देखिन्न । सहादत स्थल र मिति मिलान गर्ने हो भने हजारभन्दा बढी शहीद गाँजेमाँजे हुने अवस्था छ ।
सिन्धुली घर जाँदा माओवादीको आरोपमा मारिएका काठमाडौंमा तरकारी बेच्ने एक परिवार पनि शहीदमा सूचीबद्ध हुन पुगेका छन् । उनीहरूलाई प्रहरीले बेफ्वाँकमा माओवादीको आरोप लगाउँदै मारेको बताइन्छ । सो परिवार मारिएकै आधारमा शहीद बन्न पुगेका हुन् । त्यसैगरी माओवादी केन्द्रका तर्फबाट बागमती प्रदेश सभा सदस्य सुष्मा भुजेलका श्रीमान्को नामै छैन । उनीचाहिँ जनयुद्धमा मारिएका थिए । माओवादीले ०६० साल चैत १० गते उदयपुरमा हत्या गरेका रामबहादुर राय क्षेत्री र ०५८ साल मंसिर ८ गते मारिएका रामपुरठोक्सिलाका पर्शुराम अधिकारीको नाम शहीदको सूचीमा छ । उदयपुरका डिकबहादुर तामाङको नाम डकबहादुर र इन्द्रलाल तामाङको ठेगाना गलत राखिएको छ । यसले सरकारको यो घोषणा ‘हडबडको काम गडबड’ भएको प्रस्टिन्छ ।
राजपत्रमा उल्लेख भएअनुसार, ‘नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएको सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्नेहरूलाई सम्मानस्वरूप शहीद घोषणा गर्ने निर्णय २०७९।११।१५ गते २९ गते राजपत्रमा प्रकाशन गरेको’ भनिए पनि नामावली प्रकाशन गर्नुअघि सरकार गम्भीर थिएन भन्ने देखिन्छ । किनभने यो राजपत्रले जिउँदोलाई शहीद बनाउनेदेखि हत्या भएकाको पहिचान नै धुमिल बनाएको देखिन्छ । आतंककारीको बिल्ला भिर्न बाध्य कतिपय माओवादी कार्यकर्ता भने यो घोषणाबाट खुशी छन् ।
खुशीकै मेलोमा देवेन्द्र मगर फेसबुक वालमा लेख्छन्, ‘निर्वाचित र नियुक्तिमा हैन काम र परिणाम हेरी बधाई दिन्छु भनेको थिएँ । जनयुद्धका शहीदको नाम राष्ट्रिय शहीद घोषणाको लागि राजपंत्रमा प्रकाशन गरेकोमा प्रचण्ड सरकारलाई अहिलेसम्मकै ठूलो बधाई ।’ मगरले उदाहरणसहित तीन सुझाव दिएका छन् । गलत उल्लेख भएका नाम, सहादत मिति सच्याउनुपर्ने बताएका छन् । उनले शहीद विवरण तालिकामा सहादत स्थलको एक कोलम थप्न सुझाएका छन् । केहीले स्याङ्जा जिल्लाका माओवादीको नाममा दुःख गर्ने र मृत्युवरण गर्नेको नामभन्दा भारततिर काम गर्न गएकाहरूको नाम शहीदको सूचीमा भेटेपछि दुःखेसो पोखेका छन् । उनीहरूले नेताहरूले मनमौजी तवरले शहीद परिवारसँग कुनै परामर्श नगरी नाम जारी गरेको बताएका छन् भने जानाजानी माओवादी पार्टी परित्याग गरी एमालेलगायत अन्य पार्टीमा पसेका शहीद परिवारका सदस्यहरूको आधारमा नाम कटाएका छन् । प्रतिनिधिमूलक यी घटनाबाहेक सूक्ष्म अध्ययन गर्दा अझै धेरै त्रुटि पाउने अवस्था छ ।
०६५ सालमा प्रचण्ड र ०६७ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा लिस्टिङ गरिएका नाम अहिले सार्वजनिक गरिएको दाबी सरकारको छ । माओवादी केन्द्रका नेता अलिक बढी पूर्वाग्रही भएर शहीदको छनोट पार्टीगत रूपमा गरिएको दाबी पनि कसै–कसैको छ । राजपत्रमा प्रकाशन गर्नुअघि माओवादी केन्द्रले जिल्ला तहसम्मका नेतृत्वसँग पनि परामर्श लिन आवश्यक नठानेको यसैबाट प्रष्ट हुन्छ । माओवादी केन्द्रले शहीद परिवार समाज निर्माण गरे पनि यस संस्थासँग पनि शहीद घोषणा गर्ने बेलामा कुनै परामर्श गरिएन । सरकारले राजपत्रमा सेना र प्रहरीबाहेक ८ हजार ४ सय ६४ जनाको नाम फागुन २९ गतेको राजपत्रमा प्रकाशन गरेको छ ।
टिप्पणीहरू