मीटरब्याज पीडितको आन्दोलनमा मधेश सरकारको साथ
न्याय खोज्दै महोत्तरीको बर्दिवासबाट ११ दिन पैदलयात्रा गरेर काठमाडौं आएका मीटरब्याज पीडितहरुको आन्दोलनलाई मधेश प्रदेश सरकारले पनि साथ दिने भएको छ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मीटरब्याज पीडितहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाए ।
मुख्यमन्त्री यादवले विज्ञप्ति जारी गर्दै मीटरब्याजको समस्या मधेशको मात्र नभई पूरै मुलुकको भएकाले सबै मिलेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।
‘मधेशबाट उठेपनि यो समस्या देशकै हो । एकातिर बैंकले ऋण नदिने, अनेक अड्चन खडा गर्ने, दिएपनि चर्को ब्याज लगाउने अर्कोतिर मजबुरीको फाइदा उठाई गाउँघरका कतिपय साहुकरहरुमा अत्याचार नै गर्ने द्रव्य पिचाशी प्रवृत्ति देखिएको छ’, विज्ञप्तिमा भनिएको छ,‘शोषणविरुद्ध केन्द्र, राष्ट्र बैंक तथा प्रदेशसमेतले मिलेर संयुक्त रुपमा काम गर्ने विशेष अधिकार सम्पन्न शक्तिशाली आयोग खडा गर्न जरुरी रहेको छ ।’
साथै, उनले पीडामा परेका पीडितहरुलाई तत्काल न्याय दिनुपर्ने पनि बताएका छन् । बैंकलाई सहज र सुलभ रुपमा ऋण दिने व्यवस्था मिलाउन उनले भनेका छन् । मुख्यमन्त्री यादवले मीटरब्याजलाई अपराध घोषणा गरी तिनलाई कानुनी दायरामा ल्याउन संघीय सरकारले गरेको पहलको प्रंशसासमेत गरेका छन् ।
‘ठूलो वेदना बोकेर काठमाडौं पुग्नुभएका मीटरब्याज पीडित हाम्रा दाजुभाइ दिदीबहिनीहरु । तपाईंको हरेक पाइलामा हाम्रो साथ छ, तपाईंको आँसुको हरेक थोपामा हाम्रोपनि सरोकार र दायित्व छ’, अगाडि भनिएको छ,‘यो समस्याविरुद्ध संयुक्त रुपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्धान वर्ग, चिन्तक, योजनाविद्, विज्ञहरुलाई आह्वान गर्दछु ।’
टिप्पणीहरू