अरुले शपथ गर्ने बेलामा सिके राउतका मन्त्रीले दिए राजीनामा
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी नपाएको भन्दै जनमत पार्टीका एकमात्र मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । उनले आज प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।
प्रचण्ड सरकारमा शुरुबाटै सामेल जनमतले त्यतिबेलै उद्योग मन्त्रालयमा दाबी गरेको थियो । तर, त्यतिबेला भागबण्डामा खानेपानी परेपछि त्यसैमा चित्त बुझाएर खानलाई सरकारमा पठाएको जनमत आजको क्याबिनेट विस्तारमा पनि उद्योग हात नलागेपछि सरकार छोड्ने निर्णयमा पुगेको हो ।
जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले मन्त्री खानले राजीनामा दिएको बताए । प्रधानमन्त्रीले उद्योग दिन्छु भनेपनि क्याबिनेट विस्तारका क्रममा त्यस अनुसार जिम्मेवारी हेरफेर नगरेकाले राजीनामा दिनुपरेको उनले जानकारी दिए ।
‘जनमत पार्टीले सुरुदेखि कृषि र उद्योग मन्त्रालय माग गर्दै आइरहेको थियो । प्रधानमन्त्री प्रचण्डले तत्काललाई खानेपानी मन्त्रालयमा सम्हाल्नु, पछि मिलाउन भनेको तर अहिले खानेपानी मन्त्रालय नै कायम राखेका कारण मन्त्री खानले राजीनामा दिएका हुन्’ उनले भने ।
यसअघि जनमतका अध्यक्ष सिके राउतले प्रधानमन्त्री प्रचण्डले नै राजीनामा दिएपनि आफ्नो पार्टीले सरकार नछोड्ने बताउँदै आएका थिए ।
टिप्पणीहरू