मुस्लिम आयोग र हिन्दूवादीवीच भोलि झडपको सम्भावना

मुस्लिम आयोग र हिन्दूवादीवीच भोलि झडपको सम्भावना

हिन्दूवादीहरुले मुस्लिम आयोग खारेजीको माग तेर्साएका छन् । उनीहरुले उक्त माग पूरा हुनुपर्ने आग्रहका साथ भोलि दिउँसो राजधानीमा प्रदर्शन गर्न लागेका छन् । आयोगले जिहादीलाई प्रवर्धन गरेको आरोप लगाउँदै हिन्दूवादीहरुको संस्थाले भोलि मध्यान्ह १२ बजे ललितपुरको पुल्चोकस्थित दमकल चोकमा प्रदर्शनको कार्यक्रम राखेको छ ।

 

यता विश्व हिन्दू परिषद् नेपालले आयोगले हिन्दू समाजविरुध्द अफवाह फैलाएकोमा निन्दा गर्दै उसले समाजलाई बदनाम गरेको जनाएको छ । आज विज्ञप्ति जारी गर्दै परिषद्ले अस्ति बिहीबार रामनवमीका दिन जनकपुरमा निकालिएको मन्दिर परिक्रमाको क्रममा अवरोध पुर्याइएको दाबी गरेको छ । तर,कट्टर मुस्लिमहरुको बचावमा आयोगले हिन्दूहरुलाई बदनाम गराएको उसको भनाइ छ । 

जनकपुरमा निकालिएको शोभायात्रालाई मुस्लिमहरुले तोकिएको मार्ग प्रयोग गर्न नदिएको परिषदको आरोप छ । विज्ञप्तिमा भनिएको छ,‘पटक पटक हिन्दूहरुको पर्वमा अवरोध खडा गर्ने जिहादीहरुलाई कानुनी कारवाही गर्नुको साटो पक्षपोषण एवम् संरक्षण गर्ने मुस्लिम आयोगलाई समयमै खारेज गरी देशमा अमन चयन कायम गर्न सम्बन्धित पक्षलाई परिषद ध्यानाकर्षण गराउँदछ ।’ 

तर मुस्लिम आयोगले भने हिन्दूहरुमाथि आवश्यक कारवाहीको माग गरेको छ । आयोगले आज गृह मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘रामनवमीको अवसरमा निकालिएको शान्तिपूर्ण र्यालीमा केही व्यक्ति प्रवेश गरी मुस्लिम समुदायको पवित्र महिना रमजानको समयमा नमाज पढिरहेको अवस्थामा नारा,जुलुस गरी ढुंगा प्रहारसमेत गरेको विषय सामाजिक सञ्जालमा समेत देखिएकोले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई खलल पार्ने अभिप्रायले भएको उक्त कार्यमा संलग्न व्यक्तिहरुको पहिचान गरी कानुनबमोजिम आवश्यक कारवाही हुन आदेशानुसार अनुरोध छ ।’ 

उता कपिलवस्तुमा हिन्दूहरुको पाँच वटा संस्थाले क्रिश्चियन धर्मावलम्बीहरुले अनर्गल प्रचार गरेको आरोप लगाएका छन् । उनीहरुले येशूको नामको प्रचार गर्दै हिन्दूका भगवानको अपमान गरिएको उल्लेखसहित प्रमुख जिल्ला अधिकारीसमक्ष दोषीमाथि कारवाहीको आग्रह गरेका हुन् । उनीहरुले रोग निको पार्ने बहानामा येशू र बाइबलको प्रचार गरेको हिन्दू धर्मावलम्बीहरुको विभिन्न पाँच वटा संस्थाले सिडिओ कार्यालयमा पेश गरेको ज्ञापनमा उल्लेख छ ।

टिप्पणीहरू