गभर्नरले अर्थमन्त्रीलाई, राष्ट्र बैंकका कर्मचारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई मुलुकको बैंकिङ र मौद्रिक क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् ।
मन्त्रीलाई मुलुकको आर्थिक अवस्थाबारे जानकारी गराउन गभर्नर अधिकारीसँगै आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, विदेशी विनिमय व्यवस्थापन विभागका रामु पौडेल, नियमन विभागका निर्देशक डा. सत्येन्द्र तिमिल्सिना मन्त्रालय पुगेका हुन् ।
अर्थमन्त्रीलाई विस्तृत जानकारी गराउन बैंकका अधिकारीहरुले डेड घण्टासम्म पावर प्वाइन्ट प्रिजन्टेसन गरेको बताइन्छ । मन्त्रीले व्यापारी र व्यवसायीले झैँ ब्याजदर, लघुवित्त र सहकारी क्षेत्रबारे विशेष चासो राखेका थिए ।
यता, बैंकका केही कर्मचारीले आजै सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समसामयिक अर्थतन्त्र, वर्तमान बैंकिङ अवस्था र सांगठनिक विषयहरुमा सार्थक छलफल गरेको जानकारी गराएका छन् । आज अपरान्ह प्रधानमन्त्रीलाई भेटेपछी उनीहरुले सामाजिक सञ्जालमा फोटो र स्टाटस हालेर सो विषयमा जानकारी गराएका हुन् ।
बैंकमा रहेको माओवादी निकट कर्मचारी संगठनको तर्फबाट प्रधानमन्त्रीलाई भेटिएको भनिए पनि भेटमा छ जना कर्मचारी प्रधानमन्त्री कार्यालय पुुगेका थिए । संगठनका अध्यक्ष रेशम बल्छौडीको नेतृत्वमा गएको टोलीमा एक जना निर्देशक र दुई जना उपनिर्देशक थिए । बैंकको कर्मचारी सेवा विनियमावलीमा कर्मचारी संघ, संगठनमा सहायक निर्देशक तहसम्मका कर्मचारी सहभागी हुन पाउँछन् । उपनिर्देशक र निर्देशकलाई कर्मचारीहरुको युनियनमा सहभागिता जनाउने छुट छैन ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकका कर्मचारी र युनियनहरुबीच आफू निकट प्रधानमन्त्री र मन्त्रीसँग भेटघाट गरेर फोटो हाल्ने होडबाजी नै चलेको छ । यसअघि एमाले निकट कर्मचारी संघका कर्मचारीहरुले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलसँग र त्यसअघि माओवादी कर्मचारीहरुले जनार्दन शर्मासँग भेट गरेको, हात मिलाएको फोटो सामाजिक सञ्जालमा सेयर गरेका थिए । प्रधानमन्त्री र प्रभावशाली मन्त्रीसँग बसेर खिचेको फोटोले बैंकमा कोपभाजनमा परिने सम्भावना टर्ने र अवसर प्राप्त हुने भएकाले यो रोग बढेको जनशक्ति व्यवस्थापन विभागको जिम्मेवारी लिइसकेका एक जना कार्यकारी निर्देशकले बताए ।
टिप्पणीहरू