बाग्मतीको खानेपानीमा काँग्रेसका लामा

बाग्मतीको खानेपानीमा काँग्रेसका लामा

नेपाली कांग्रेस काभ्रेका सभापति तथा प्रदेशसभा सदस्य तीर्थ लामाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । आज बाग्मती सरकार विस्तार हुँदा उनलाई सो मन्त्रालयको जिम्मेवारी परेको हो । 

लामाले आज साँझ मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितीमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासंग खानेपानी मन्त्रीको सपथ लिएका छन् । मङ्सिर ४ को चुनावमा प्रदेश सांसद जितेका लामा २०७० सालको संविधानसभा निर्वाचनमा काभ्रे क्षेत्र नं १ बाट सभासद चुनिएका थिए । सोही कार्यकालमा कांग्रेस संसदीय दल कार्यसमितिको सदस्य निर्वाचित भएका उनी संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य भएका थिए । 

२०६४ सालको निर्वाचनमा कांग्रेसले ७ हजार मत ल्याएको उक्त क्षेत्रमा ७० सालमा उनी १२ हजार भन्दा बढी मत ल्याएर विजयी भएका थिए । माओवादी केन्द्र र एमाले मिलेर भएको वाम गठबन्धनका कारण २०७४ सालको निर्वाचनमा भने उनी ४ हजार २६ मत अन्तरले पराजित भए । वाम गठबन्धनका गंगाबहादुर दोङले ४३ हजार ६ सय ३१ र लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गरेका थिए । 

२०६४ सालबाट नेपाली कांग्रेसको राजनीति शुरु गरेका लामा सोही वर्ष क्षेत्रीय उपसभापति मनोनित भएका थिए । पार्टीको १२औं र १३औं महाधिवेशनमा क्षेत्रीय सभापति निर्वाचित लामा संघीयतापछि जिल्ला २ निर्वाचन क्षेत्रमा विभाजन हुँदा प्रतिनिधिसभा क्षेत्र नम्बर १ को सभापति थिए । पार्टीको १४औं महाधिवेशनमा उनी जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

टिप्पणीहरू