बालेनलाई गृहमन्त्रीको जवाफ- बल प्रयोग गर्न अनुरोध गरेर मात्रै हुँदैन
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले औचित्यपूर्ण कामका लागि संघीय सरकारले स्थानीय तथा प्रादेशिक सरकारसँग समन्वय गर्न बताउनुभएको छ ।
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले संघीय सरकारको असहयोगका कारण फोहोर व्यवस्थापन लगायतका काम गर्न अप्ठेरो परेको बताएपछि गृहमन्त्री श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो । आज चितवन पुग्नुभएका गृहमन्त्रीले औचित्य पुष्टि हुने हरेक काम मिलेर गर्न संघीय सरकार तयार रहेको बताउनुभयो ।
मेयर बालेनले काठमाडौं महानगरलाई संघीय सरकारले सहयोग नगरेकाले सिंहदरवारको फोहोर नउठाउने निर्णय सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । त्यसको जवाफमा गृहमन्त्रीले स्थानीय वा प्रदेश सरकारले बल प्रयोग गर्न अनुरोध मात्र गर्ने जानकारी दिएर नहुने बताउनुभयो ।
संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न संघीय सरकार प्रतिबद्ध रहेको तर त्यो प्रक्रियागतरुपमा हुने उहाँको भनाइ छ ।
टिप्पणीहरू