झापा आन्दोलनमा १७ वर्ष जेल बसेका नरेश खरेलद्वारा एमाले परित्याग

झापा आन्दोलनमा १७ वर्ष जेल बसेका नरेश खरेलद्वारा एमाले परित्याग

झापा विद्रोहका जीवितमध्येका एक नरेश खरेलले नेकपा एमाले परित्याग गरेका छन् । उनीसहित झापाका एक दर्जन नेता-कार्यकर्ताले आज पत्रकार सम्मेलन गरी एमालेको सम्पूर्ण जिम्मेवारीबाट मुक्त रहेको घोषणा गरेका हुन् ।

पार्टी परित्यागको घोषणा गर्दै उनीहरुले एमाले नेतृत्वले इमान्दार नेता-कार्यकर्तालाई पाखा लगाउने,दक्षिणपन्थी यथास्थितिवादी शक्तिसँग साँठगाँठ गर्ने जस्ता गतिविधि नरोकेपछि बाध्य भएर विद्रोह गर्नुपरेको बताएका छन् । 

'पार्टीमा इमान्दार नेता-कार्यकर्तालाई पाखा लगाइएको छ,दक्षिणपन्थी यथास्थितिवादी शक्तिसँग साँठगाँठ अझ दरिलो बन्दैछ । यस्ता गतिविधि टुलुटुलु हेरेर रमिते बन्न उचित ठानेनौँ',पत्रकार सम्मेलनमा वितरित संयुक्त वक्तव्यमा भनिएको छ, 'त्यसैले नेकपा एमालेमा लामो समय योगदान गरेका तर, पार्टीका गलत क्रियाकलापसँग असहमत रहेका हामी आजैदेखि सो पार्टीबाट स्वतन्त्र रहेको घोषणा गर्दछौँ ।' 
लामो समयदेखि पार्टीमा देखिएको गलत पध्दति, कार्यशैली र नीतिका विरुद्ध वैचारिक संघर्ष गर्दै पार्टीलाई रुपान्तरण गराउन गरेको प्रयास सफल नहुँदा यो परिस्थिति बनेको उल्लेख गर्दै उनीहरुले उल्टै आफूहरुलाई चरम अपमान गरिएको गुनासो पनि गरेका छन् । विगतका कमजोरीबाट पाठ सिकेर गल्ति कमजोरी सुधार्दै पार्टीलाई एकतावद्ध गराउनुको साटो नेतृत्व थप निरङ्कुश बन्ने र फरक मत राख्ने नेता-कार्यकर्तामाथि अपमान गर्ने काममा तल्लिन भएको उनीहरुको ठहर छ । 

एमालेको चर्चित तथा विवादित दशौँ महाधिवेशनमा दुर्गा प्रसाईं,कोमल वलीजस्ता नवप्रवेशीहरुलाई केन्द्रीय सदस्य बनाइँदा खरेलजस्ता कम्युनिष्ट आन्दोलनमा लागेर कपाल फुलाएकाहरुलाई पाखा पारिएको थियो ।

एमाले छोडेका खरेललगायतले कम्युनिष्ट आन्दोलनको उपलब्धि र कमजोरीको सही ढंगले मूल्यांकन गर्दै आ-आफ्नो ठाउँमा गल्ति कमजोरीप्रति आत्मालोचित हुन सके वामआन्दोलनलाई नयाँ धरातलबाट उठाउन सकिने आशा अझै मारेका छैनन् । विगतमा भएका कमि कमजोरी महसुस गर्दै त्यसबाट शिक्षा लिई एकतावद्ध भइ लोकतान्त्रिक प्रणालीबाट प्रतिष्पर्धामा श्रेष्ठता हाँसिल गर्न राष्ट्रिय पुँजीको विकासको बाटोबाट जनतालाई श्रम,उत्पादन र रोजगारसँग जोड्दै समाजवादका आधार निर्माण गर्ने कार्यदिशा समात्नु नै आजको वाम आन्दोलनको एकताको बैचारिक आधार हुने उनीहरुको निष्कर्ष छ । 

पार्टी परित्याग गर्नेहरुमा खरेलसँगै हिराप्रसाद पोखरेल,रविना राना मगर,कल्पना पोखरेल, गेहराम भट्टराई,अरुण पोखरेल,महानन्द साह, भीमप्रसाद लुइंटेल, साजात आलम,आवालो दिन मिया,पदम थापा र चन्द्रा श्रेष्ठ रहेका छन् । 

झापा आन्दोलनमा लागेकै कारण १७ वर्ष जेल परेका खरेल समकालीन कम्युनिष्ट नेताहरुमा सबैभन्दा पाका र परिपक्क मानिन्छन् । उनी एमाले अध्यक्ष केपी ओलीका जेल सहयात्री पनि हुन् । तर,ओलीको रोजाइमा नपरेकै कारण आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा खरेल लगभग पार्टीबिहीन अवस्थामा थिए । 

एमालेको चर्चित तथा विवादित दशौँ महाधिवेशनमा दुर्गा प्रसाईं,कोमल वलीजस्ता नवप्रवेशीहरुलाई केन्द्रीय सदस्य बनाइँदा खरेलजस्ता कम्युनिष्ट आन्दोलनमा लागेर कपाल फुलाएकाहरुलाई पाखा पारिएको थियो । त्यसयता एमालेमै रहेर संघर्ष गरिरहेका उनले अन्तत: आज झापा आन्दोलनका शहीद रत्नकुमार बान्तवाको स्मृति दिवसको दिन पार्टी छोडेको घोषणा गरे । नयाँ आधारमा वैचारिक एकता गर्दै सिंगो वामआन्दोलनलाई एकतावद्ध गर्ने खरेलले विश्वास जनाएका छन् ।

टिप्पणीहरू