भारतीय सुरक्षाकर्मी बलजफ्ती नेपाल पसे : रघु पन्त
एमाले सांसद रघुजी पन्तले आज संसद बैठकमा भारतीय सुरक्षाकर्मी बलजफ्ती नेपाल प्रवेश गरेको बताएका छन् । उनले खालिस्तानी आन्दोलनकारी अमृतपाल सिंह नेपाल प्रवेश गरेको नाममा उनको खोजी गर्न भारतीय सुरक्षा निकायका अधिकारीहरु नेपाल प्रवेश गरेको भन्दै त्यसप्रति आपत्ति जनाएका हुन् ।
उनले अमृतपाल खोज्द भन्दै भारतीय सुरक्षाकर्मीहरु बलजफ्ती नेपाल प्रवेश गरेको भन्ने समाचारप्रति सरकारको धारणा माग गरेका छन् । पन्तले भने, ‘हिजोआज भारतीय र नेपाली सञ्चारमाध्यममा खालिस्तानी आन्दोलनकारी अमृतपाल सिंह नेपाल प्रवेश गरेको आशंकायुक्त समाचार प्रकाशित भएका छन् । सँगसँगै वीरगन्ज र बाँके भएर भारतीय सुरक्षाकर्मीहरु नेपाल प्रवेश गरेका खबर बाक्लै आएका छन् ।’
हाम्रो सुरक्षा संयन्त्रमाथि अविश्वास गरेर भारतीय सुरक्षाकर्मीहरु यहाँ आएर अमृतपाल सिंहलाई खोजिरहेको भन्ने खबरप्रति उनले सरकारको धारणा मागेका हुन् । उनले नेपालको कानुनले अन्य देशको सुरक्षाकर्मी आएर खोजतलास गर्न अनुमति नदिएको पनि उल्लेख गरेका छन् ।
टिप्पणीहरू