सहायक पाइलटलाई पखाला लागेपछि वरिष्ठ पाइलट निलम्बित

सहायक पाइलटलाई पखाला लागेपछि वरिष्ठ पाइलट निलम्बित

नेपाल वायुुसेवा निगमले वरिष्ठ पाइलट रविन्द्रकुमार शेरचनलाई निलम्बन गरेको छ । निगमको अपरेशन्स विभागका प्रमुख शेरचनलाई चैत १८ गते दुबई उड्न ठिक्क परेको विमानका सहायक क्याप्टेनलाई पखाला लागेपछि अर्को सहायक क्याप्टेनको व्यवस्था गर्न नसकेको आरोपमा निलम्बन गरिएको बताइएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हिजो साँझ उनलाई निलम्बन गरेका हुन् । १८ गते शनिबार काठमाडौंबाट दुबई उडान गर्ने क्रममा विमान चालकको उचित व्यवस्थापन गर्न नसकेको र उडान रद्द भएको सम्बन्धमा गरिएको छानबिनबाट उनी दोषी ठहर भएको बताइन्छ । थप जाँचबुझ र अनुसन्धानको निम्ति उनलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

उक्त दिन उडान रद्द भएकाले यात्रुलाई ६ घण्टा काठमाडौंका विभिन्न होटलमा राखिएको थियो । राति साढे ११ बजे उड्नुपर्ने विमान भोलिपल्ट बिहान सवा ११ बजे मात्र उडेको थियो ।

विमानका को–पाइलट गोपालसिंह बिष्टलाई विमानस्थल पुगेपछि पखाला लागेको र अर्को पाइलट व्यवस्था गर्न नसकिएको भन्दै उडान रोकिएको थियो । राति उडान रद्द भएपछि बोर्डिङ पास लिइसकेका २६६ जना यात्रुलाई ज्ञानेश्वरको काभेरीलगायत होटलमा लगेर सुताइएको थियो । 

उता दुबईका यात्रुलाई पनि त्यहाँको होटलमा राखेपछि भोलिपल्ट ११ बजे काठमाडौंबाट उडेको विमानमा ती यात्रु आएका थिए । काठमाडौंबाट गएका यात्रुमध्ये ३६ जना नेपाली र २३० जना विदेशी थिए ।

टिप्पणीहरू