सरकारी कोटामा इजरायल पठाइदिने नाममा ३१ लाख झ्वाँम
वैदेशिक रोजगारीमा इजरायल पठाइदिने नाममा ठगी गर्दै आएका एक युवक पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा सर्वसाधारणलाई ठग्दै आएका सुनिलकुमार यादवलाई प्रहरीले पक्रेको हो ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आज उनलाई काठमाडौंको लाजिम्पाटबाट नियन्त्रणमा लिएको हो ।
बर्दिया घर भई हाल लाजिम्पाट बस्दै आएका २६ वर्षीय उनले जिटुजी सम्झौतामार्फत् सरकारी कोटामा इजरायल पठाइदिने र त्यहाँ पुगेपछि कृषि कम्पनीमा काम लगाइदिने प्रलोभनमा फसाएका थिए ।
जिटुजी सम्झौतामार्फत् सरकारी कोटामा इजरायल जान प्रतिव्यक्ति १८ लाख रुपैयाँ लाग्ने र मासिक १ लाख ९० हजार तलब हुने प्रलोभनमा पीडितबाट पटकपटक गरी ३१ लाख रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएको बताइन्छ ।
आफूहरु ठगिएको थाहा पाएपछि पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेका हुन् । विभागको अनुरोधपछि प्रहरीले खोजतलास अघि बढाएको थियो ।
सोही क्रममा आज पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाइएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू