अमेरिकामा बस्ने नेपालीहरुले हिसाब देखाउँदै भने ‘रवि लामिछानेले दिउँसै रात पारे’
अमेरिकी नागरिकता खल्तीमा राखेर नेपाल फर्किएका र टिभी कार्यक्रम प्रस्तोता हुँदै राजनीतिमा हाम्फालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यतिबेला चितवनमा भोट माग्न व्यस्त छन् । अमेरिका गएपछि खारेज भइसकेको नेपाली नागरिकता देखाएर मंसिरमा चुनाव जितेका उनी सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरेपछि पदमुक्त भएका थिए । त्यही कारण दोहोर्याएर चुनाव हुन लागेको चितवन–२ बाट जितेर पुनः माननीय बन्ने अभिलाषा देखाइरहेका लामिछाने मतदाता रिझाउन प्रयासरत छन् ।
यसै क्रममा केही दिनअघि उनले अमेरिकामा रहँदा आफ्नो तलब, सुविधाबारे पत्याउनै नसकिने तथ्याङ्क देखाएर उग्र भाषण गरेका छन् । चितवनका सोझा समर्थकमाझ मासिक १ लाख डलरको आकर्षक जागिर छोडेर अमेरिकाबाट फर्किएको उनको भाषण अहिले चर्चामा छ । काठमाडौँसमेत नदेखेका सोझा मतदाताले त्यो भाषण पत्याएर हाहाहुहु गर्दै ताली ठोके पनि अमेरिकामा पसिना बगाइरहेका नेपालीहरु भने लज्जित हुँदै सामाजिक सञ्जालमा पोखिएका छन् ।
"अमेरिकी राष्ट्रपति जो बाइडेनको तलबभन्दा बढी कमाएको गफ दिएर लामिछानेले भोटको राजनीति गरेको उनको टिप्पणी छ । विश्व महाशक्ति राष्ट्र अमेरिकाका शक्तिशाली राष्ट्रपतिको तलबसमेत मासिक ५० हजार डलर नहुने हिसाब देखाउँदै खड्काले लामिछानेले झुट बोलेको बताए ।"
नेपालमा पत्रकारिता गर्दागर्दै अमेरिका पुगेका निल खड्काले आफ्नो कमाईसम्बन्धी लामिछानेको दाबी कुनै हालतमा सही नभएको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको तलबभन्दा बढी कमाएको गफ दिएर लामिछानेले भोटको राजनीति गरेको उनको टिप्पणी छ । विश्व महाशक्ति राष्ट्र अमेरिकाका शक्तिशाली राष्ट्रपतिको तलबसमेत मासिक ५० हजार डलर नहुने हिसाब देखाउँदै खड्काले लामिछानेले झुट बोलेको बताए । उनले सरासर झुठ बोल्दै अमेरिकामा बसेको भए आफू टप फाइभ धनी हुने समेत उल्लेख गरेका छन् ।
उनी फेसबुकमा लेख्छन्, ‘अमेरिकी राष्ट्रपति बाइडेनको तलब वार्षिक ४ लाख डलर रहेछ । तलबबाहेक अरू सुविधावापत उनले वार्षिक थप १ लाख ६९ हजार डलर पाउने रहेछन् । सबै जोड्दा बाइडेनले वार्षिक ५ लाख ६९ हजार डलर पाउने रहेछन् । यो भनेको महिनाको करिब साढे ४७ हजार डलरमात्रै हो । अझ ४ लाखको त कर काटिने रहेछ । अमेरिकाको वर्तमान राष्ट्रपतिले समेत तलब र अन्य सबै सुविधावापत महिनाको ५० हजार डलर कमाउँदैनन् । रवि लामिछानेले अमेरिकामा १० वर्षअघि नै महिनाको १ लाख डलर कमाउँथे रे !!! यिनलाई पनि अन्ध समर्थकहरू छँदैछन्,चुनावको बेला जनतालाई जे भने पनि हुन्छ भन्ने भूत चढेछ ।’
लामिछानेजस्तै अमेरिकामा बसेर नेपाल फर्किएका वरिष्ठ लेखक तथा समालोचक हरि अधिकारीले मासिक एक लाख डलर कमाउने लामिछानेको भाषणलाई उट्पट्याङ गफ भनेका छन् । झण्डै ४ वर्ष अमेरिकामा बसेर सन् २०२१ मा नेपाल फर्किएका उनले फेसबुकमा लेखेका छन्, ’रविले जोतेको त्यो उट्पट्याङ गफ दिल र दिमाग दुबैलाई विचलित पार्ने खालको थियो । ढिलो–चाँडो यस देशको राज्यसत्ता सञ्चालन गरिछाड्छु भन्ने अठोटका साथ राजनीतिको अखाडामा उत्रिएको फूर्तिवाज व्यक्तिले सार्वजनिक रूपमै त्यस्तो सफेद झूट बोलेको सुन्नु पर्दा को पो स्तब्ध नभई रहन सक्ला र ?’
लामिछानेको उक्त भाषणलाई गँजेडी गफको संज्ञा दिएका उनले त्यहाँ उपस्थित सर्वसाधारणले समर्थनमा ताली पिटेको दृश्य गज्जब लागेको बताए । अमेरिकामा लामिछानेले गरेको काम र उनको कमाईको हिसाबसमेत उनले निकालेर देखाएका छन् ।
‘लगभग अर्धसाक्षर रवि लामिछानेले अमेरिकामा मजदुरी गरेर कमाउने भनेको मासिक अधिकतम ३५००–४००० डलर हो’, अधिकारीले लेखेका छन्, ‘उनले धेरै दिन सब–वे भनिने फास्ट फुड आउटलेटमा रोटी पोको पारेका थिए । उनले त्यो काम गरिरहेको बेला उनी बसेको मेरिल्याण्ड राज्यमा प्रतिघण्टा ज्याला १० डलर थियो सायद । महिनाको ३० दिन नै दिनको ८ घण्टा काम गर्ने हो भने महिनाभरिमा सब–वेमा काम गर्ने मजदुरले कमाउने भनेको २४ सय डलर हो । ओभरटाइम आदि गर्दा केही सय डलर थप हुनसक्छ !’
अधिकारीको लामिछानेलाई प्रश्न छ, ‘रविले यस्तो डिङ किन हाँकेका होलान् ?’ सँगै उनी भन्छन्, ‘यस प्रश्नको उत्तर रवि स्वयमले मात्रै दिन सक्दछन् ।’
टिप्पणीहरू