माओवादीका ‘अयोग्य लडाकू’ लाई रकम बाँड्ने निर्णयप्रति समाज रुष्ट
तत्कालीन नेकपा माओवादीका ‘अयोग्य लडाकु’ लाई जनही दुई लाखका दरले सहयोग उपलब्ध गराउने सरकारी निर्णयप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) द्वारा घोषित रकम सरकारले दिन लागेपछि समाजले आपत्ति जनाएको हो । चार हजार आठ सय माओवादी लडाकुलाई सहयोगस्वरुप ८० करोड १६ लाख रुपैयाँ बाँड्ने निर्णय खारेज गर्न समाजले माग गरेको छ ।
सभामुख देवराज घिमिरेलाई आज ज्ञापनपत्र बुझाउँदै समाजले सरकारी कोषबाट लडाकुलाई रकम बाँडन नहुने बताएको छ । त्यस्तै, दण्डहीनताको अन्त्यका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई नेपालले तत्काल अनुमोदन गर्नुपर्ने समाजको भनाइ छ ।
समाजले संक्रमणकालीन न्याय प्रक्रियालाई तत्काल टुंगोमा पुर्याउन जोडदार माग गरेको छ । ‘जनयुद्ध दिवस’ लाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय आपत्तिजनक भएको बताउँदै समाजले २०८० को बिदा सूचीबाट तत्काल हटाउन भनेको छ ।
‘माओवादीको जनयुद्ध शुरु भएको दिनलाई “जनयुद्ध दिवस” भनि राष्ट्रिय दिवसका रुपमा मनाउने आपत्तिजनक सरकारी निर्णय तत्काल खारेज गर्दै वर्ष २०८० को बिदा सूचीबाट तत्काल हटाउनुपर्ने’, पत्रमा उल्लेख छ ।
टिप्पणीहरू