पूर्वाधार निर्माण रात परेपछि गर्न महानगरको सूचना

पूर्वाधार निर्माण रात परेपछि गर्न महानगरको सूचना

काठमाडौं महानगरपालिकाले सार्वजनिक तथा निजी पूर्वाधार निर्माण र मर्मत कार्यलाई व्यवस्थित तथा सुरक्षित बनाउन आग्रह गरेको छ । 

आज सूचना जारी गर्दै महानगरले मानव स्वास्थ्यलाई प्रतिकूल असर नपर्ने र आवतजावतलाई सहज हुने गरी निर्माण कार्य गर्न सरोकारवालाहरुलाई अनुरोध गरेको हो । सार्वजनिक निकायलाई सकभर राति ८ बजेपछि मात्र पूर्वाधार निर्माण, मर्मतलगायतका काम गर्न सूचनामा भनिएको छ । 

सडक, फुटपाथको मर्मत वा नयाँ निर्माण गर्दा धुलो नउड्ने वा अन्यत्र नजाने व्यवस्था मिलाउन महानगरको आग्रह छ । निर्माण कार्य सकिसकेपछि तत्काल सडक पिच, ढलान गर्नुपर्ने वा सम्भव नभए फोहोर नहुने व्यवस्था मिलाउनुपर्ने महानगरको भनाइ छ । त्यस्तै, घेराबार नलगाई वा संकेत क्षेत्र निर्धारण नगरी राखिएका निर्माण सामग्री वा उपकरण महानगरले जुनसुकै बेला उठाउन सक्ने चेतावनीसमेत दिएको छ । 

‘सडक, पेटीमा गरिने कुनै पनि निर्माण, मर्मत कार्यका लागि आवश्यक पर्न जति साम्रगी मात्र निर्माण स्थलमा खसाल्ने वा राख्ने गर्नुपर्नेछ’, सूचनामा भनिएको छ,‘निर्माण स्थलको घेराबार नलगाई वा संकेत क्षेत्र निर्धारण नगरी यत्रतत्र राखिएका कुनै पनि निर्माण सामग्री वा उपकरण महानगरपालिकाले जुनसुकै बखत उठाइ लान सक्नेछ ।’

निर्माण कार्य सम्पन्न भएपश्चात् पूर्ण रुपमा सरसफाइ गर्नुपर्ने उल्लेख गर्दै महानगरले सडक पेटीमा निर्माण सामग्री खसालेर अवरोध गर्न नपाइने स्पष्ट पारेको छ । साथै, नियम उल्लङ्घन गर्ने निकाय, संस्था, व्यवसायी वा व्यक्तिलाई फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र वातावरण संरक्षण ऐन, २०७६ बमोजिम पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने महानगरको चेतावनी छ ।
 

टिप्पणीहरू