‘पहाड फर्क’ अभियान थाल्न ढिलाई किन ?

‘पहाड फर्क’ अभियान थाल्न ढिलाई किन ?

-गणेश लम्साल

नव वर्ष २०८० प्रारम्भ हुनुभन्दा एक साताअघि कोशी प्रदेशका केही पहाडी जिल्लाको भ्रमण गर्ने अवसर जुर्यो । भ्रमणको क्रममा धेरै रमाइला अनुभवहरु बटुल्ने त भइहाले । योसंगै एउटा सक्रिय पत्रकार भएकाले सञ्चारमाध्यमलाई हुने धेरै समाचार पनि पाए । 

प्रेस सेन्टर प्रदेश समितिको साधारण सभामा सहभागी हुन हामी चैत अन्तिम हप्ता ऐतिहासिक जिल्ला भोजपुरको टेम्के मैयुम गाउँपालिकाको चखेवामा पुगेका थियौं । चिसो हावापानी र फराकिलो खर्कसँगै शान्त वातावरणको चखेवामा दुई दिने बसाइँ एकदमै आनन्दमय रह्यो । 

पूर्वको रमणीय टेम्के पर्यटकीय क्षेत्रले भरिपूर्ण छ । त्यहाँ हामीलाई मुन्धुम पदमार्ग हेर्ने र बुझ्ने अवसर पनि मिल्यो । स्थानीयसँग भेटघाट गर्दै रोजगारी, पेशा व्यवसायबारे धेरै जानकारी लिन हामी सफल भयौं ।  

पहाडमा लगानीको प्रशस्त सम्भावना बढ्न थालेको त्यहाँका स्थानीय बताउँछन् । मध्यपहाडी लोकमार्गको निर्माणपछि पहाडी क्षेत्रमा पर्यटन व्यवसाय फस्टाउन थालेको छ । सवारी साधनको आउजाउ बढेकाले रमणीय क्षेत्र घुमफिर गर्ने र धार्मिक तीर्थस्थलहरुको दर्शन गर्नेको संख्या ह्वात्तै बढेको छ । 

धनकुटाको लेगुवाघाट हुँदै भोजपुरको विभिन्न पर्यटकीय क्षेत्र घुमेर खोटाङको हलेसी महादेव मन्दिरको दर्शन गर्ने तराईबासीको त्यहाँँ लर्को लाग्ने गरेको छ । उनीहरु त्यँहीबाट तराई फर्किने गरेका छन् । 

राष्ट्रिय फूल लालीगुराँस हेर्न र त्यसका प्रजातिको अध्ययन गर्न जानेहरुका लागि पनि सो क्षेत्र उत्तम छ । पहाडका प्रायः सबै बजारमा तराईबाट गएका व्यापारीहरुले व्यवसाय गर्न थालेका छन् । 

यसबाट पहाडी बजारको व्यापार सोझै तराईका शहरसँग जोडिन थालेको छ । अर्कोतर्फ लामो दूरीका यात्रामा रमाउने पर्यटकहरुलाई सो क्षेत्रले मन्त्रमुध्न बनाउन सक्छ । पहाडको शुद्ध खानपान, सफा र शान्त वातावरणका होमस्टेले उनीहरुको ध्यान खिचेको छ । यता, होटल र रिर्सोटहरु पनि प्रशस्तै खुलेका छन् ।

चखेवाका होटल सञ्चालकहरुले टेम्के क्षेत्रमा अझै होटल र रिसोर्टको संख्या अपर्याप्त रहेको जानकारी दिए । पर्याप्त सुविधाको अभावका कारण पर्यटकहरुको बसाइँ लम्ब्याउन नसकेको तिनको गुनासो छ । 

पहाडसँगै तराईंका युवा उद्यमीहरुले पनि त्यहाँ धमाधम लगानी गर्न थालेका छन् । पर्यटकीय क्षेत्र भएकाले होटल, रिसोट खोल्नेको संख्या ह्वात्तै बढेको छ । भोजपुरका उजाड पाखामा अहिले जैविक (अर्गानिक) चिया खेती गर्न थालिएको छ । त्यहाँ उत्पादन भएको चिया विश्व बजारमा पुग्ने गरेको छ । 

टेम्के मैयुम गाउँपालिका वडा नम्बर २ छिनामखी श्यामसिलामा रहेको गोठेसिँह नामको सुविधा सम्पन्न होमस्टेका सञ्चालक प्रकाश राई र समीक्षा राईका अनुसार पहाडमा प्रशस्त पैसा फल्न थालेको छ । 

सीप हासिल गरेर लगानी गर्न सकेको खण्डमा विदेश जान नपर्ने उनीहरु बताउँछन् । कमाउनका लागि तराई जानुपर्ने बाध्यताको अन्त्य भएकोमा राई दम्पती खुसी छन् । चार वर्षअघि होमस्टे शुरु गरेका उनीहरुलाई बाह्रैमास भ्याइनभ्याइ हुन्छ । पाहुनाको सेवासुविधामा उनीहरुले आफ्नो समय बिताउने गर्दछन् ।

 

त्यहाँ थेग्नै नसक्ने गरी पाहुना आउने गरेको उनीहरुको भनाइ छ । आफ्नो व्यवसायीबाट सन्तुष्ट उनीहरुलाई जनशक्तिको अभावले गर्दा कहिलेकाँही खिन्न महशुस हुने गरेको छ । जनशक्तिको अभावले गर्दा सोचेअनुरुप होमस्टे विस्तार हुन नसकेको तिनको गुनासो छ । अन्य होमस्टे र होटल सञ्चालकलाई पनि जनशक्तिको अभावले साह्रै च्यापेको देखियो । प्रायःजसो होटलमा वृद्धवृद्धा र महिलाहरु पाहुनाको सेवामा खटिएको देखिन्थ्यो ।  

हाम्रा पूर्खाहरुले हप्ता दिन लगाएर नुनतेल बोकेकोजस्तो छैन अब पहाड । पहिलेपहिले तराईंबाट मरिमरि नुनतेल बोक्नुपर्ने बाध्यता थियो, जुन अन्त्य भइसकेको छ । पहाडी भेगका अधिकांश जिल्लामा सडकको पहुँच पुगिसकेको छ । नभएको ठाउँमा पनि धमाधम पक्की सडक निर्माण हुँदैछ । 

सञ्चार, बत्ती, इन्टरनेटको पहुँचमा छन्, आमनागरिक । शिक्षा र स्वास्थ्यका लागि आवश्यक पर्ने पूर्वाधारहरु पनि निर्माण भइसकेका छन् । स्थानीय उत्पादनहरुले बजार पाउन थालेको छ । पहाडमा उत्पादित सामान सहजै तराई पुग्छ । निर्वाहमुखी स्थानीय व्यवसायहरु व्यवसायिक बनेका छन् । 

पहाडी भेगमा भएका जिल्ला हराभरा छन् । डाँडाकाँडाले भरिपूर्ण पहाडी जिल्लाहरु हेर्दै आकर्षित देखिन्छन् । धार्मिक, साँस्कृतिक र प्राकृतिक सौन्दर्यको वर्णन गरिसाध्य छैन । पहाडका बसोबासीहरुले पनि सुःखी जिन्दगी बिताउन थालेका छन् । 

विडम्बना पहाडमा जनशक्तिको अभाव छ । बसाइँ सर्ने क्रम रोकिन सकेको छैन । आफन्त र नातागोता भन्दाभन्दै पहाड रित्तिन थालिसकेको छ । भौतिक पूर्वाधारका पछि लागेका आमनागरिकले पहाडमा भएको अवसरलाई पहिल्याउन सकेका छैनन् । 

युवा जनशक्तिहरु विदेशिरहँदा होमस्टेलाई जनशक्ति नभएर चल्न मुश्किल परिरहेको छ । विदेशबाट फर्किएका पनि सुःखी जीवनको खोजीमा तराई झर्न थालेका छन् । उद्यम, व्यवसायभन्दा पनि विलासीपूर्ण जिन्दगी तिनलाई प्यारो भएको छ । 

तीन तहको सरकारले ‘पहाड फर्क’ अभियान चलाउन ढिलो गरिरहेको छ । संघीय राजधानीमा उकुसमुकुस जीवन जिउनभन्दा आफ्नै गाउँघरमा गएर उद्यम गर्न राम्रो भनेर सरकारले सिक दिनुपर्छ । उद्यम गर्नेलाई सरकारले अनुदानको व्यवस्था गर्नुपर्छ ।  गाउँघर फर्किने परिवारलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याउनुपर्छ । 

स्थानीय पेशा, ज्ञान र सीपलाई व्यवसायिक बनाउन स्थानीय सरकार अग्रसर बन्नुपर्छ । पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी देखिएको छ । दक्ष जनशक्ति उत्पादनमा सरकारले जोड दिनुपर्छ । विकसित मुलुकमा जस्तै गाउँगाउँमा सेवासुविधा पुर्याउनुपर्छ । 

कोशी प्रदेशको १४ जिल्लामध्ये ११ वटा जिल्ला पहाडी र हिमाली भेगमा पर्छन् । तराईमा पर्ने भनेको झापा, मोरङ्ग र सुनसरी हो । प्रदेशको धेरै भूभाग पहाडमै पर्छ । पहाडलाई यसरी नै उपेक्षा गरिरह्यौं भने हामीमाथि परनिर्भरता हाबी हुन्छ । बेरोजगारीको दलदलमा फस्छौं, हामी । खाद्य संकट बढ्दै जान्छ । 

प्रचुर सम्भावना बोकेर पनि जहिले अर्थतन्त्रमा पछि परिरहन्छौं । वैदेशिक रोजगारीमा जानेहरु थेगिनसक्नु हुन्छ । यसबारे सरकार बेलैमा सतर्क हुनुपर्छ । पहाडमा देखिएको समस्या समाधानका लागि तीन तहको सरकारको हातमालो जरुरी छ । एकजुट भएर अघि बढ्यो भने मुलुक आत्मनिर्भर बन्न बेर लाग्दैन ।

टिप्पणीहरू