'मेरो पति खै' भन्दै आन्दोलनकारी निषेधित क्षेत्रमा पस्न खोजेपछि बानेश्वरमा झडप
संक्रमणकालीन न्यायसम्बन्धी संसदमा पेश भएको टीआरसी विधेयक संशोधन गर्न माग गर्दै आन्दोलनमा उत्रिएका द्वन्द्वपीडित र प्रहरीबीच झडप भएको छ ।
काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि प्रदर्शनमा उत्रिएका द्वन्दपीडितहरु निषेधित क्षेत्रमा जान खोजेपछि सामान्य झडप भएको हो । प्रहरीले सडकमा लगाएको बार भत्काएर प्रदर्शनकारीहरु अगाडि बढ्न खोजेपछि प्रहरीसँग उनीहरुको ठेलमठेल भएको थियो ।
सोही क्रममा प्रदर्शनकारीहरु अगाडि बढ्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । करिब एक दर्जन द्वन्दपीडितहरु पक्राउ परेको बताइएको छ ।
द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले सरकारले संसदमा प्रस्तुत गरेको टीआरसी विधेयक एकपक्षीय भएको आरोप लगाउँदै आएका छन् । पीडकलाई उन्मुक्ति दिनेगरी विधेयक ल्याइएको उनीहरुको दावी छ । त्यसविरुद्ध लगातार प्रदर्शन गरिरहेका उनीहरु आज प्रदर्शन गर्न बानेश्वर पुगेका हुन् ।
संयुक्त द्वन्दपीडित संघर्ष समितिका संयोजक रिता कार्कीको नेतृत्वमा सहसंयोजक भोजराज तिमल्सिनालगायत डेढ दर्जनको संख्यामा कालोब्यानर र प्ले कार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरुले चर्को नाराबाजी पनि गरे ।
उनीहरुले 'सरकार मेरो पति खोइ', 'शहीदको उच्च सम्मान गर', 'लुटिएको सम्पति फिर्ता गर', 'पीडितलाई परिपूर्तिको ग्यारेन्टी गर', 'द्वन्दपीडितलाई कतिन्जेल ढाट्छौं', टीआरसी विधेयकलाई राजनैतिक प्रभावबाट मुक्त गर', जस्ता नारा लगाएका थिए ।
टिप्पणीहरू