सरकारी जग्गाको विषयमा आफूलाई बदनाम गराउन खोजेको भन्दै मिर्चैयाका मेयरको आपत्ति
सिरहाको मिर्चैया नगरपालिकाले सार्वजनिक जग्गामा बनाइएका अनाधिकृत घरटहरा हटाइएको विषयलाई अतिरन्जित गरेर दुस्प्रचार भएको भन्दै आपत्ति जनाएको छ । राजनीतिक उक्साहटमा नगरलाई बद्नाम गर्न सुनियोजित तबरले दुस्प्रचार गरिएको नगरपालिकाको दाबी छ ।
नगरप्रमुख श्रवणकुमार यादवले नगरपालिकाको वडा नम्बर ५ मा रहेको कित्ता नं. २५६ (क्षेत्रफल ३–१२–१७) को सम्बन्धमा केही व्यक्तिहरुले दुस्प्रचार गरेको बताए । अदालतबाट भएको आदेश र पर्याप्त कानूनी प्रमाणको आधारमा उक्त जग्गामा निर्मित अनाधिकृत घरटहरा हटाइएको उनले स्पष्ट पारेका छन् ।
घरटहरा हटाउन नगरपालिकाले निकालेको सूचनालाई अटेरी गरिएकाले नगरपालिका आफैँ ति संरचना हटाउन बाध्य भएको मेयर यादवको भनाई छ । तर, घरटहरा बनाएका व्यक्तिहरु बाहेक कतिपय उच्छृंखल समूहले राजनीतिक प्रतिशोधको आधारमा गरिब निमुखालाई प्रयोग गरी नारा, जुलुस र दुस्प्रचार गर्ने गरेको उनले आरोप लगाए ।
यसअघि घर टहरा हटाउने नगरपालिकाको कदमलाई लिएर सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न खोजेको भन्दै स्थानीयले आशंका गरेका थिए । नगरपालिकाले भने जग्गा व्यक्तिको नाममा दर्ता गराउन लागिएको भन्ने हल्लामा कुनै सत्यता नरहेकाले भ्रममा नपर्न भनेको छ ।
मेयर यादवले मिर्चैयाको गुदरी बजारमा रहेको बजारलाई व्यवस्थापन गर्न सम्बन्धित निकायलाई पत्र समेत पठाएको पनि जानकारी दिएका छन् ।
‘मिर्चैया नगरपालिका ५ साविक २ (क) को कित्तानं. २५६ को ३–१२–१७ क्षेत्रफल र वडानं. २ (ख) को कित्तानं. ६० को ०–२–५–० जग्गा नेपाल सरकारको नाममा रहेको र कुनै पनि व्यक्ति वा संस्थाको नाममा नापी नगरिदिन भनी नगरले नापी कार्यालय सिरहाको नाममा पत्र लेखी पठाएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘सोको जानकारी विशेष नापी कार्यालय मिर्चैयालगायत सम्बन्धित निकायमा जानकारी गराइसकेकोले कुनै किसिमको गलत प्रचारको पछाडि नलागिदिनुहुन अनुरोध गरिन्छ ।’
टिप्पणीहरू