दिनहुँ बढ्दैछ डढेलो, क्षति संकलन गर्नै हम्मेहम्मे
शंकर श्रेष्ठ
धादिङ– पछिल्लो साता धादिङका अधिकांश वन डढेलोले सखाप बनेको छ । धादिङमा ७ सय १५ वटा सामुदायिक वन छ । प्राय सबै वनमा डढेलोले क्षति पुगेको छ । वस्ती नजिकैको वन अझ बढी सखाप बनेको छ । यतिवेला वन डढेलो नियन्त्रण बाहिर पुगिरहेको डिभिजन वन कार्यालय धादिङका प्रमुख अजय विक्रम मानन्धरले बताए ।
डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिहरुले आगलागी भएका वनको क्षति संकलन गर्न समेत सकेको छैन । एकै दिन धेरै स्थानमा आगलागी भएकोले क्षतिको यकिन विवरण संकलन गर्न कठिनाई भएको मानन्धरले बताए ।
धादिङमा सात सय १५ वटा सामुदायिक वन छ । अहिले अधिकांश वनमा डढेलो चलिरहेको छ । नीलकण्ठ नगरपालिका, वेनिघाट रोराङ गाउँपालिका र रुवीभ्याली गाउँपालिकाका वनमा सबैभन्दा बढि क्षति पुगेको वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालय धादिङको तथ्यांक अनुसार यो वर्षको डढेलो गत पाँच वर्ष यताकै सबै भन्दा ठुलो हो ।
धादिङ जिल्ला भित्र रहेका वनहरु मध्ये एकतिहाई वन ढडेलोले सखाप बनेको वन अधिकृत मानन्धरले जानकारी दिए । उनी भन्छन्–‘डढेलोले यतिनै क्षति पुग्यो भन्ने यकिन तथ्यांक त हामीले लिन भ्याएका छैनौं तर, एकतिहाई वन डढेलोले ध्वस्त बनेको प्रारम्भिक तथ्यांक हामी सँग छ ।’ धादिङमा २४ हजार ८ सय हेक्टर क्षेत्रफल जंगलले ओगटेको छ ।
डिभिजन वन कार्यालय हरेक वर्ष वन डढेलो नियन्त्रणको लागि भनेर विभिन्न औजारहरु वितरण गरिरहे पनि त्यसको प्रयोग भएको पाईदैन । यो वर्ष पनि २० लिटर पानी अट्ने ब्याकप्याक पम्प, फायर सुट, पञ्जा, हेल्मेट बुट र स्वाटर लगाएतका सामाग्रीहरु वन डढेलो नियन्त्रणमा प्रयोग गर्ने सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरुलाई उपलब्ध गराईएको भनेपनि डढेलो नियन्त्रणमा यस्ता सामाग्री प्रयोग भएको पाईएको छैन ।
वन डढेलोले बोटविरुवा सखाप पारेको त छ नै वन्यजन्तुमा समेत क्षति पु¥याएको छ । डढेलो नियन्त्रणको लागि रातदिन खटिरहेको धादिङका वन अभियान्ता भुमि रमण नेपालले वन समितिले चाँसो नदिएकै कारण वनमा डढेलो बढि लागेको बताए । वन संरक्ष गर्नुपर्छ भन्दै विगुल फुक्दै हिड्दा देखिने विभिन्न प्रजातिका वन्यजन्तु डढेलोले गर्दा लोप हुने अवस्थामा पुगेको उनको भनाई छ ।
वन जंगल विनास हुँदा जंगली जनावर गाउँ पस्ने र मानवीय क्षतिको समेत जोखि बढेको छ । लामो समयदेखि पानी नपर्दा र दैनिक जसो वन जंगलमा डढेलो लागेको हुनाले धादिङको वायुप्रदुर्षण बढेको छ ।
टिप्पणीहरू