विकट गाउँबाट उठेर जसले बनाए अन्तर्राष्ट्रिय ब्राण्ड

विकट गाउँबाट उठेर जसले बनाए अन्तर्राष्ट्रिय ब्राण्ड

फलाम जति जोडसँग बजारिन्छ उति नै त्यसलाई राम्रो आकार प्रकार दिन सकिन्छ । उस्तै हो मान्छेको जिन्दगी पनि । जसले जिन्दगीमा जति ठूलो चोट खाएको हुन्छ, त्यसैले उसको भविष्य दुवोझैँ मौलाउन सक्छ । हो, यो पनि शून्यबाट उठेर अनेक हण्डर ठक्कर खाँदै एउटा उचाइमा पुगेका व्यक्तिको संघर्षको किस्सा हो । 

बत्तीमुनिको अँध्यारोको नियति भोगेर हाँसिरहेको र बाग्मती प्रदेशको कर्णालीको रूपमा बाँचिरहेको रसुवामा जन्मिएका हुन् रमेश लामा । जो हण्डर ठक्करबाट खारिँदै अहिले विश्वको शक्तिशाली मुलुक अमेरिका पुगेर नुपेर ब्राण्ड नामक संस्था खडा गरी व्यवसाय र सामाजिक काममा उत्तिकै सक्रिय छन् । तर, यो उचाइसम्म पुग्दा उनले भोगेका कष्टका पहाड अजंगका छन् । 

अहिलेको आमाछोदिङमा गाउँपालिका–३ मा तीन दशकअघि जन्मिए पिता नुर्पु र आमा पेम्बाको कोखबाट । रसुवाका ५ पालिकामध्ये आमाछोदिङमा सबैभन्दा विकट गाउँपालिका हो । साँवा अक्षर कम र भेडा–बाख्रा धेरै गनेर तिनीहरूसँगै बित्यो उनको बालापन । कृषि र पशुपालन थियो बाजे बराजुको पेशा । उनले पनि त्यसैलाई थाम्नुपर्ने भयो । हिँउदमा भेडा बाख्रा बोकेर पुग्थे डाँडागाउँ अनि बर्खामा सान्जेन हिमालतिर उक्लन्थे । 

बालापनको उमेर । साथीको लहैलहैमा लागेर छिरे काठमाडौँ । तर सोचेजति प्रिय कहाँ छ र राजधानी ? व्यर्थको दुःख भोगे । न खाने बस्ने टुंगो, न त सहारा दिने कसैको हात । दुई दिनसम्म बालाजुको टहरामा त्यसैगरी बिते । संयोग तत्कालीन प्रधानसेनापतिको टोली रसुवा जाँदै रहेछ । उनीहरूकै सहारा लिएर आफ्नै जिल्ला फर्कन सफल भए । ती मनकारी सेनाहरूले लगाउने कपडा किनिदिए । तर, घर फर्कन मन लागेन । त्यहीं बस्नका लागि काम त गर्नुप¥यो । तर, के काम गर्ने ? हातमा सीप केही छैन । त्यसमाथि बालक । भाैँतारिँदै गर्दा धुञ्चेमा अवस्थित आरएल होटलमा भाँडा माझ्ने काम मिल्यो । 

बिहान–बेलुका होटलका भाँडा माझ्ने र दिउँसो स्कूल जाने । पढाइमा अब्बल थिए । जिल्लास्तरीय परीक्षामा प्रथम भएँ । यो कुरा बुबाको कानमा प¥यो र आफ्नै घर लगे । घर फर्किएपछि अध्ययनको गतिमा फेरि ब्रेक लाग्यो । पुरानै भेडा बाख्रा हेर्ने काममा फर्किए । यहीबीच गाउँमा स्कूल बन्यो । गोल्जुङमा अवस्थित स्कूलमा भर्ना भएर फलामे ढोका मानिने एसएलसी पार लगाए । 

उच्च शिक्षा अध्ययन गर्ने अवस्था थिएन गाउँमा । मनभरि सपना र झोलाभरि भविष्य बोकेर भित्रिए राजधानी । नेपालटारमा अवस्थित एनआर कलेजमा भर्ना भए । घरबेटी थिए बहालवाला प्रहरी । बुबाआमाले पठाएको पैसा सिद्धिँदै गयो । गोजी दुब्लाउँदै गएपछि कामको खोजीमा लागे तर यो पापी काठमाडौं । सोर्स फोर्स नभएको मान्छेलाई कसले दिने जागिर ? 

पापी पेटको सवाल छ । त्यसमाथि अघि बढाउनु छ अध्ययनको गति । त्यही कारण बेच्न थाले साग । काठमाडाैँका रैथाने नेवारहरूले आफ्नो बारीमा लगाएको साग किनेर बालाजुबाट हिँड्दै हिँड्दै कालिमाटीसम्म पुग्थे र फर्किन्थे कलेजतिर । दैनिकी यसैगरी चल्थ्यो । यसरी पकेट मनी र कोठाभाडा तिर्ने पैसा जोहो गर्थें । क्याम्पसमा तिर्न पर्ने फि जुटाउँथे । यही कर्मले नै आज उनलाई यहाँसम्म ल्याएको छ । 

पछि आफ्नै जिल्लामा बोर्डिङ स्कुल खोल्ने इच्छा पलायो । जिल्ला फर्किएँ र सञ्चालन गरे माउन्ट हिम्स इङ्लिस बोर्डिङ स्कूल । राम्रै चलिरहेकै थियो । सशस्त्र द्वन्द्वको समय । स्थिति यस्तो कि राति माओवादी सहयोग माग्दै आउँथे । बास र गाँसको प्रवन्ध गरिदिनुपथ्र्याे अनि दिउँसो माओवादीलाई किन सहयोग गरिस् भन्दै सरकारका मान्छेहरू, सेना प्रहरी आउँथे, थर्काउँथे, पिट्थे । त्यही समयमा स्कूल सहायक प्रमुखलाई जिम्मा लगाएर हिँडे । बेलायतमा आविष्कारकसम्बन्धी कार्यक्रममा सहभागी भए । र, जिन्दगीको बाटो नेपालबाट बेलायततिर पुग्यो । लण्डन इञ्जिनियरिङ कलेजमा भर्ना भएँ । सरकारी स्कूल, त्यसमा पनि रसुवाजस्तो ७८औं जिल्लाको । त्यहाँ नेपाली घोकेर हुर्किएको विद्यार्थी अंग्रेजी माध्यमबाट पढ्नुपर्दा पहिलो र दोस्रो वर्षमा खासै राम्रो गर्न सकेनन् । मिहिनेत दोब्बर पारे, तेस्रो वर्ष ९८ प्रतिशत अंक ल्याएर उत्तीर्ण भए । 

लण्डनको सो कलेजमा अधिकांश उच्च घरानियाँका सन्तान अध्ययन गर्दारहेछन् । पछि त्यहीँ अध्ययनसँगै व्यवसाय गर्न थाले । दुबईमा कन्स्ट्रक्सन कम्पनी स्थापना भयो साथीहरूसँग मिलेर । र, अन्तर्राष्ट्रिय लाइसेन्स लिए । पहिलो वर्ष राम्रै नाफा आर्जन भएको थियो । तर, दोस्रो वर्ष साथीहरूले साथ छाड्न थाले, व्यवसाय खासै राम्रो हुन सकेन । सानोमा बुबाले भनेको सम्झिए, साथी दुई प्रकारका हुन्छन्, पहिलो उखुजस्तो, दोस्रो चप्पलजस्तो । 

उखुजस्तो साथीले रस आउञ्जेल चुस्छन्, रस आउन छाडेपछि साथ छाड्छन् । चप्पलजस्तो साथीले, जीवनमा साथचाहिँ कहिल्यै छाड्दैनन् तर यात्रामा हिलोचाहिँ टाउकैमा पु¥याइदिन्छन् । उनले पनि साथीहरू भेटे तर दोस्रो लाइनकोजस्तो । त्यतिखेर मात्र २२ वर्षको थिए । साथीहरूबाट पाएको धोखाले अर्काे पाठ सिकायो । पढाइसँगसँगै अब इनोभेसन (नयाँ कुराको खोजी गर्ने) व्यवसायतिर लागे । यो क्रममा अमेरिकाको एउटा बिजनेस प्रोजेक्टमा हात हाल्न पुगे । त्यहाँ युनिभर्सिटी अफ ब्रह्माण्डमा काम गरे । धेरै चिज सिके । आफूलाई अझै निखार्ने मौका पाए । यही बीचमा जसले यो अलौकिक दुनियाँ देखायो, आमालाई गुमाए क्यान्सरका कारण । पैसा र ठाउँमा हुँदासमेत आमालाई बचाउन सकेनन्, कारण क्यान्सर अन्तिम स्टेजमा पुगिसकेको रहेछ । 

आमाको मृत्युपछि मन एकाग्र भयो । शोकमा डुबिरहे । त्यही समयमा एउटा प्रण गरे बुवा आमाको नामबाटै नौलो व्यवसाय शुरु गर्छु । बुबा आमा र पहिलो अक्षरको शब्दबाट नुपेर नामक संस्था स्थापना गरे । धेरै साथीहरूको साथ, माया ममताका कारण एक दशकमा नुपेर महलसम्म बन्न सफल भएको छ । अहिले नुपेर ब्राण्डसँग ट्राभल एड टुर कम्पनी, होटेल एण्ड रेस्टुरेन्ट, रोयल्टी र क्लोथेज ब्राण्ड छ । यसलाई ब्राण्ड बनाउन धेरै कष्ट र हण्डर व्यहोरेका छन् । विगतमा कमाएको सबै पैसा स्वाहा भयो तर लाइसेन्स पाएका छन् । यो समग्र रसुवावासीका लागि गौरवको कुरा हो । 

आज नुपेर ब्राण्डको शाखा युएस, क्यानडा अस्ट्रेलिया, युके, जर्मनी, स्विटजरल्याण्ड र फ्रान्ससम्म फैलिएको छ । यसले विशुद्ध प्राकृतिक वस्तु बिक्री गर्छ । जिल्लामा निर्मित हस्त सामग्री बिना दलालीलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याएको छ । जस्तो रसुवाबाट आमाले मेरी छोरीका लागि पठाएको टोपी शोरुममा राख्दा ५ वर्षभित्र १६ हजारको माग भयो । रसुवा प्राकृतिक रूपमा धनी छ । तेस्रो पर्यटकीय गन्तव्य क्याञ्जिन भ्याली, लाङटाङ, गोसाइँकुण्ड यहीँ छ तर नेता र नेतृत्वले ठगेको जिल्ला हो रसुवा । विश्वभर कोरोना महामारी फैलिएको बेला आफ्नो जिल्लाका लागि सकेको सानो सहयोग गर्छु भनेर आफूले खाई नखाई बचाएको डेढ लाख रकम जिल्ला र पालिकामा पठाए । तर, त्यसरी पठाएको रकम सदुपयोग भएन । यसरी पठाइएको रकमले केही जनप्रतिनिधि शयर गर्न निस्किएको कुँडियो मन । 

हुन त पैसाले कसलाई पो पुगेको छ र ? आखिर मान्छे रित्तो हात आउँछ । जाने रित्तो हात नै हो । मरेर कसले के नै लान्छ र ? जीवनको गति हिँड्दा हिँड्दै कतिखेर ब्रेक लाग्छ, कसलाई के थाहा ? जो मान्छे पैसा कमाएर त्यसको केही अंश समाजका लागि समाजमा भएका दीनहीनका लागि पनि सोच्छ त्यो नै अविस्मरणीय बन्छ । आफ्नो व्यवसायमा आर्जित रकमको कम्तीमा ६ प्रतिशत रकम आफ्नै जिल्लाका लागि खर्चिरहेका छन् । पढाइमा उत्कृष्ट तर आर्थिक स्थिति दयनीय भएकाहरूलाई सहयोग गर्ने हेतुले नुपेर एजुकेशन फण्ड खोलेर अध्ययन गर्न चाहनेहरूका लागि अध्ययन गर्न सक्ने वातावरण बनाउने प्रयास गरिरहेका छन् । आमाछोदिङमा गाउँपालिकाबाट १० जनालाई यो फण्डबाट सहयोग गरिएको छ । यसलाई जिल्ला हुँदै देशैभरका जेहेन्दार, अब्बल तर गरिब कोही पनि शिक्षाको पारिलो घामबाट वञ्चित नहुन् भन्ने ढंगले सेवा गर्ने धोको छ । 

– रमेश लामा, प्रबन्ध निर्देशक, नुपेर ब्राण्ड
 

टिप्पणीहरू