आगामी सोमबारदेखि राजधानीका प्रमुख व्यापारिक केन्द्रमा आन्दोलन चर्काउने तयारी

आगामी सोमबारदेखि राजधानीका प्रमुख व्यापारिक केन्द्रमा आन्दोलन चर्काउने तयारी

राष्ट्रवादी केन्द्र नेपालले आगामी सोमबारदेखि काठमाडौंव्यापी आन्दोलन गर्ने भएको छ । सरकारले आफ्ना जायज मागको सुनुवाई नगरेको विरोधमा केन्द्रले आन्दोलनको घोषणा गरेको बताइएको छ । 

वर्तमान वित्तीय नीति परिवर्तन गरी कर्जाको ब्याजदर ६ प्रतिशत कायम गर्नुपर्ने र कालोसूची, लिलामी प्रक्रियामा अगाडि बढाइएका ऋणीहरुलाई समय थप गरी पेशा–व्यवसाय सञ्चालनको वातावरण गर्नुपर्ने केन्द्रको माग छ । 

त्यस्तै, यातायात क्षेत्र, उद्योगी, व्यवसायी क्षेत्रमा सरकारद्धारा आर्थिक तथा व्यवसायिक रुपमा गरिएका सम्पूर्ण ज्यादती बन्द गर्नुपर्ने केन्द्रले जनाएको छ । किसान, श्रमिक, युवा, विद्यार्थी, सुकुम्बासी, स्थानीय जनसमुदायका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने केन्द्रको भनाइ छ । प्रदेश सरकार खारेज गर्नुपर्ने, वैदिक सनातन धार्मिक राष्ट्र कायम गर्नुपर्ने, निःशुल्क शिक्षा र स्वास्थ्य बनाउनुपर्ने, रोजगारीको ग्यारेन्टीसहित मंहगी र भ्रष्टाचारको अन्त्य गर्नुपर्ने भनिएको छ ।

वित्तीय आतंक र राष्ट्रका हरेक पक्षमा नियोजित रुपमा गराइएको आर्थिक संकटको निकासका लागि आमनागरिक, उद्योगी, व्यवसायी तथा सम्बन्धित सबै पक्षको अनुरोधमा आन्दोलन गर्न थालिएको केन्द्रका सचिवालय सदस्य भुवन संग्रमले बताए ।

कोटेश्वर, चाबहिल, गोगंबु, कलंकी, ग्वार्को, बागबजार, कालीमाटी आन्दोलनको निम्ति प्रमुख केन्द्र रहने उनले जानकारी दिए ।

टिप्पणीहरू