सेनाको ब्यारेकभित्र गुपचुप बन्दैछ नेपालकै रकेट
खुशीको कुरा– नेपालमा पनि अन्तरीक्ष ताक्ने रकेट गुपचुप बन्दैछ । अनि, दुःखको कुरा– बनाउँछौं, उडाउँछौं भन्ने युवा तम्सिरहेका छन् तर पैसाको खडेरी !
म्यागासेसे पुरस्कार विजेता महावीर पुनको कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा सधैं १०–१२ जना इञ्जिनियरिङतर्फका युवा भेटिन्छन्, जसलाई चिन्ता छ– रकेट बनाउने । यो जोखिमपूर्ण काम हो । बनाएर बेच्दा नाफा हुन्थ्यो । त्यसैले महावीरले ती युवालाई शुरुमै भनेका थिए, ‘नगर, केटा हो, नगर । बनाएर बेच्न सकिँदैन । बेच्न नसकिने भएपछि किन बनाउने ?’ तर, ‘केटाहरु’ किन मान्थे र ! ‘हैन सर, हामीलाई प्रयास गर्न त दिनुस्’ भन्दै आफैँ काममा भिड्न थाले । यसरी उनीहरुले धेरै नै कर गरेपछि रहर पुर्याउनका लागि महावीरले नेपाली सेनालाई गुहारे । सेनाले २०७७ सालमा पूर्णचन्द्र थापा चिफ हुँदा सिराहाको भिमान ब्यारेकभित्र एउटा रकेट उडायो पनि ।
रकेट पाँच फिटभन्दा लामो थियो । चार–पाँच सय मीटर उडेपछि चार्ज नपुगेर खस्यो तर ती युवा हतोत्साहित भएनन् । अहिले उनीहरु नगरकोट जाने बाटो दायाँतिर भक्तपुरको खरिपाटीस्थित सैनिक इलेक्ट्रिकल एण्ड मेकानिकल इञ्जिनियरिङ (इएमई) मा दिनहुँ रकेट बनाउने काम गरिरहेका हुन्छन् । महावीरकै सक्रियतामा उनीहरुलाई जंगी अड्डाबाट प्रतिव्यक्ति प्रतिमहिना पकेट खर्चस्वरुप २०–२५ हजार रुपैयाँ दिने व्यवस्था मिलाइएको छ । खासमा यो काम सेनाले हैन, सरकारले गर्नुपर्ने ती युवाको भनाइ छ ।
कोभिड संक्रमणको पहिलो लहर शुरु हुँदा राष्ट्रिय आविष्कार केन्द्रले सेनाको छाउनीस्थित अस्पतालसँग सहकार्य गरी पिपिए उत्पादन र वितरणको काम गरेको थियो । त्यतिबेला कोहीसँग पैसा लिने काम भएन । पछि ‘केटाहरु’ रकेट बनाउने भन्न आएपछि महावीरले सहजीकरण गरिदिए । शुरुमा त उनीहरुले त्यो काम राष्ट्रिय आविष्कार केन्द्रमा नै गरे । तर, सुरक्षित ठाउँ भएन । सेनालाई अनुरोध गरेर ठाउँ मागियो । बल्ल अघिल्लो वर्षको बजेटमा सेनाले रकेटका लागि १५–१६ लाख रुपैयाँ छुट्टयायो । त्यहींबाट काम गर्ने युवालाई खाजा खर्च, पकेट खर्च माग गरियो । हालसम्म रकेट बनाउँदा २८ लाख रुपैयाँ खर्च भएकोमा ८–१० लाख आउने भनिएको तर चार लाखमात्र केन्द्रले पाएको छ । अर्को वर्षको लागि केही गर्ने हो भने बजेट छुट्याउने आश्वासन दिइएको छ ।
सेनाले वैज्ञानिकलाई लिन आउने, लैजाने काम गर्छ । ती युवाले नेपालकै विभिन्न इञ्जिनियरिङ क्याम्पसमा पढेर यस्तो विद्या सिकेका हुन् । पूर्व तीनतारे जर्नेलद्वय पवनबहादुर पाँडे र सदीपबहादुर शाहहरुले यस्तो काम गर्नेलाई प्रोत्साहनस्वरुप लागेको खर्च दिनुपर्छ भनेका थिए । तर, अहिलेसम्म त्यतातिर कसैलाई तातो लागिहालेको देखिन्न । यी युवा यस्तरी कस्सिनुको अर्को पनि कारण छ, अमेरिकामा स्पेसकोड भन्ने कार्यक्रमअन्तर्गत संसारभरिको युनिभर्सिटीका विद्यार्थीले रकेट बनाएर प्रतिस्पर्धा गर्छन् । ती नेपाली विद्यार्थी पनि त्यहाँ जान चाहन्छन् । भिमानको परीक्षण पहिलो प्रयास थियो, त्यो असफलताबाट हतोत्साहित भएनन् । बरु, दिनैपिच्छे नयाँ–नयाँ किसिमले काम गरिरहेका छन् । भन्छन्, ‘नासाले बनाएको त असफल हुन्छ भने हामी त को हौँ र ?’ उनीहरुले रकेट बनाएर भिमानपछि पनि दुई–तीन पटक परीक्षण गरिसके ।
उडानका लागि नोजमा सोलिडफ्युल हाल्ने हो । त्यो भनेको चिनीमा अलिकति केमिकल मिसाइएको हुन्छ । केमिकल मिसाएपछि इन्धन बन्छ र उड्छ । रकेटको इन्धन ल्याउनका लागि सरकारको अनुमति चाहिन्छ । यो कुरा सुरक्षासँग पनि जोडिएकाले अहिले बनाइएको रकेट खेलौना जस्तो हो, व्यवसायिक हैन । महावीरलाई चिन्ता छ, नेपालले लुकेर रकेट बनाउँदो रहेछ भनेर सेनालाई विदेशीले अप्ठेरो पार्लान् भन्ने । विभिन्न देशमा रकेट प्रक्षेपण गरी सैन्य कौशलता प्रदर्शनसँगै विरोधी शक्तिलाई मनोवैज्ञानिक रुपमा सतर्क गराउने काम हुँदै आएको छ । नेपालका विरोधी देश कोही पनि छैनन् । युद्धको सम्भावना पनि कोहीसँग छैन । यस्तो स्थितिमा ‘रकेट बनायो’ भन्ने हल्लाले सेनालाई अप्ठेरो पर्ला भन्ने पिर छ । भन्छन्, ‘यस्तो काम गर्न सरकारले अलग्गै रिसर्र्च ल्याब बनाउनुपर्छ ।’
टिप्पणीहरू