मुख्यमन्त्रीका अंगरक्षक बेपत्ता

मुख्यमन्त्रीका अंगरक्षक बेपत्ता

कसैलाई जानकारी नगराई आफूखुशी गयलमा परेका सैनिकको खोजी गर्न थालिएको छ । विभिन्न ब्यारेक–गणमा कार्यरत सैनिक बेपत्ता हुन थालेसँगै सेनाले छ्याप्छ्याप्ती खोज्न शुरु गरेको हो । 

सुइँको नदिई तारबार नाघेर भागेका र घर बिदामा गएका सैनिक नफर्किने व्यथा अहिले अलि बढेको पाइन्छ । यसरी पछिल्लोचोटि हराउनेमा दार्चुलाको मालिकार्जुन नगरपालिका–४ बस्ने अमल्दार सोबानसिंह धामी छन् । 

दिलिपसिंह धामीका नाति एवम् धरमसिंह धामीका छोरा उनी सुदूरपश्चिम बेश क्याम्पबाट मुख्यमन्त्री निवासमा कार्यरत थिए । ब्याच नम्बर २५००५१ भएका उनी गत चैत ३० गते कसैले थाहा नपाउने गरी ब्यारेकको तारबार नाघेर आफूखुशी भागेका हुन् । पटकपटक सम्पर्क गर्दा पनि सफल हुन नसकेपछि सेनाले मातहतका युनिटहरूलाई परिपत्र गर्दै तिनलाई जहाँ कहींबाट समातेर उपस्थित गराउन निर्देशन दिएको छ । 

त्यस्तै, अर्का बेपत्ता भएका सैनिक हुन्, धनुषाका रोशनकुमार झा । घाडघाँस गाविस वडा नम्बर ६ गंगुलीका स्थायी बासिन्दा उनलाई घर बिदामा छोडिएको थियो । महेशकान्त झाको नाति तथा गम्शेरकान्त झाको छोरा उनी चैत ७ गते ब्यारेकबाट निस्किएका छन् । १५ दिनको छुट्टीमा बसेका उनी चैत २१ गते हाजिर हुनुपर्ने थियो । ब्याच नम्बर २७८७८३ भएका उनी सो दिन कार्यालयमा उपस्थित नभएपछि सेनाले पटकपटक सम्पर्क गरेको थियो । 

सेनाबाट जारी भएको स्मार्ट आईडी कार्डसमेत लिएर गएको बताइएको छ । पछिल्लो केही समययता सैनिकहरू भागेको खबर लगातार बाहिरिरहेको छ । तालिमको क्रममा भाग्ने सैनिकहरूको लर्को लागेको छ । यता, तालिम सकेर जागिर खाइसकेकाहरू पनि दिनहुँ गयलमा परिरहेका छन् । 

सेनिटरी प्याड उत्पादनका लागि सेनाद्वारा कर्मचारी भर्ती

यसैबीच सेनाले सेनिटरी प्याड उत्पादनका लागि ज्यालादारीमा कर्मचारी माग गरेको छ । सैनिक कल्याणकारी निर्देशनालयको गत चैत २८ गतेको पत्रअनुसार कर्मचारी भर्ती गर्न लागिएको हो । संघीय राजधानीको सुन्धारास्थित पुरानो बसुन्धारामा रहेको क्यान्टिन भवनमा सेनिटरी प्याड उत्पादन गरिने योजना छ । 

नेपाली सेनाका आश्रित एकल महिलामा खुला प्रतिस्पर्धा गराई पाँच जनालाई ज्यालादारीमा पदपूर्ति गराइने सेनाले जानकारी दिएको छ ।

 

टिप्पणीहरू