सिंहदरबार कता सार्ने ?

सिंहदरबार कता सार्ने ?

आखिर सरकारले सिंहदरवार अन्तै सार्ने निर्णय गर्‍यो । सरकारले सार्न चाहेको त थिएन । तर दुई कारणले सार्नै पर्ने बाध्यता आइपर्‍यो । एउटा कारण, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नै भनिसक्नुभयो कि सिंहदरवार अन्तै सार । अब मेयरले नै भनिसके पछि सार्नै पर्‍यो। अर्को कारण, अहिले सिंहदरवारमा फोहोर उठिरहेको छैन । सिंहदरबारभित्र हरेक दिन फोहोर उत्पादन भइरहेको छ तर उठिरहेको छैन । अब यस्तो अवस्थामा के गर्ने ? उसो त सिंहदरवार देशकै सबैभन्दा बढी फोहोर उत्पादन हुने ठाउँ हो । त्यहीं फोहोर नउठेपछि अब गर्ने के ? 

त्यसैले सरकारले बाध्य भएरै सिंहदरवार सार्ने निर्णय गर्नुपर्‍यो । तर सार्ने निर्णय मात्र गरेर के गर्नु । सार्ने त सार्ने, कहाँ सार्ने ? सिंहदरबार सार्नलाई ठाउँ पनि त हुनुपर्‍यो । 

मन्त्रिपरिषद्मा ठूलै बहस भयो । मन्त्रीहरूले विभिन्न ठाउँ प्रस्तावित गरे । जस्तो टुँडिखेल, हनुमानढोका, हेटौंडा, पोखरा, नारायणघाट, नयाँ दिल्ली, लण्डन आदि आदि । तर कुनैमा पनि सहमति भएन ।

यस्तैमा एउटा मन्त्रीले तर्कसहित सुझाव दियो, ‘मलाई त लाग्छ, सिंहदरवारलाई अब बञ्चरेडाँडातिर सार्नुपर्छ ।’

‘बञ्चरेडाँडा ? किन ? के छ यसको फाइदा ?’ आश्चर्यचकित एक मन्त्रीले सोधे । 

मन्त्रीज्यूले भने, ‘फाइदा त धेरै छ । पहिलो फाइदा के हो त भन्दा अहिले प्रधानमन्त्रीको पार्टी मुख्यालय पेरिसडाँडामा छ । अतः सरकारको मुख्यालय बञ्चरेडाँडामा राख्नु उचित हुन्छ । उहाँ कहिले पेरिसडाँडा जानुहुन्छ, कहिले बञ्चरेडाँडा जानुहुन्छ । आखिर नेपाल डाँडैडाँडाको देश हो । यसले देशको मौलिकता पनि झल्किन्छ ।’

‘यति हो फाइदा ?’ एउटा पुड्को पुड्को साइजको मन्त्रीले सोधे । 

‘हैन फाइदा अर्को पनि छ,’ प्रस्तावक मन्त्रीले भने, ‘अहिले सिंहदरवारमा फोहोर उठिरहेको छैन । बहुत ठूलो समस्या छ । यदि सिंहदरवार नै बञ्चरेडाँडा सारियो भने फोहोर फाल्ने समस्या हुँदैन । फोहोर फाल्ने ल्याण्डफिल साइट बञ्चरेडाँडामै छ । यसो दुई पाइला हिँड्यो कि फोहोर फाल्न पाइहाल्छ । कस्तो लाग्यो प्रस्ताव ?’

प्रस्ताव सबैलाई चित्त बुझ्यो । तर्क पनि चित्त बुझ्यो । अतः सरकारले बञ्चरेडाँडामै सिंहदरवार सार्ने निर्णय गर्‍यो । 

तर के भएर हो कुन्नि, निर्णयको कुरा चुहिएर बञ्चरेडाँडावासीले पनि पाएछन् । मन्त्रिपरिषद्को निर्णय त सरकार आफैले सार्वजनिक नगरुन्जेल गोप्य नै हुनुपर्ने थियो । त्यो भएन । बञ्चरेडाँडावासीलाई निर्णय थाहा भइहालेछ ।

अब सिंहदरवारै आफ्नो एरियामा ल्याउने भन्ने खबरले बञ्चरेडाँडावासी त खुशी हुनुपर्ने हो । मलाई पनि त्यही लाग्या थियो । तर कुरो उल्टो पो भइदिएछ । बञ्चरेडाँडावासी त खुशी होइन, भयंकर आक्रोशित पो भएछ । सिंहदरवारलाई बञ्चरेडाँडामा सार्न पाइँदैन पो भन्न थालेछन् बाऽ । के भनेको यो ? सबैजना चकित भए । 

कारण जान्नका लागि मैले बञ्चरेडाँडाकै एक वडा अध्यक्ष टाइपका स्थानीयवासीलाई सोधेँ, ‘यो के भनेको भाइ ? सिंहदरवारलाई बञ्चरेडाँडा ल्याउन पाइँदैन किन भनेको ? यो त खुशीको कुरा हो ।’

स्थानीयवासीले भने, ‘खुशीको कुरा होइन, यो त सरकारले हामीलाई हेपेको कुरा भयो ।’

‘किन ?’

उनले भने, ‘हेर्नोस्, हामी बञ्चरेडाँडावासीहरू यहाँको ल्याण्डफिल साइटको फोहोर सुँघ्न नसकेर अहिल्यै कायल भइसकेका छौँ । यहाँको ल्याण्डफिल साइटमा यति धेरै फोहोर हुन्छ कि त्यो अब हामीले सुँघ्नै नसक्ने भइसकेको छ । अब पहिल्यै यत्रो फोहोरले गर्दा बसिनसक्नु भइसकेको छ भने त्यसमा अब सिंहदरवार पनि थपे पछि हामी यहाँ कसरी बस्ने होला ? त्यसैले हुन्न । हामी सिंहदरवारको फोहोर सुँघ्न सक्दैनौँ । यो भन्दा त बरु ल्याण्डफिल साइटकै फोहोर सुँघेर बस्छौँ, सिंहदरवारको फोहोर सुँघेर बस्न सक्दैनौँ ।’

बञ्चरेडाँडावासी स्थानीयको दुःखपूर्ण तर्क सुुनेर म ट्वाँ परेँ । त्यहाँ ट्वाँबाहेक अरु केही पर्ने सम्भावना पनि त भएन नि । भयो र ?
 

टिप्पणीहरू