तनहुँमा दुई बस जुध्दा एक दर्जन यात्रु घाइते

तनहुँमा दुई बस जुध्दा एक दर्जन यात्रु घाइते

पृथ्वी राजमार्गमा आज दिउँसो भएको बस दुर्घटनामा एक दर्जन बढी यात्रु घाइते भएका छन् । राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका –२ माथिल्लो गुणादीमा दुई यात्रुबाहक बस आपसमा ठोकिंदा उक्त दुर्घटना भएको हो । 

दमौलीबाट पोखरा जाँदै गरेको ग १ ख ३८२३ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको ना ५ ख २११३ नम्बरको बस एकापसमा ठक्कर खाँदा दुवैतर्फका गरी १३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणका अनुसार पोखरा महानगरपालिका –३ बस्ने वर्ष ४३ की श्याममाया मग्राती, सोही महानगरका वडा २ बस्ने अभिषेक सुनार र वर्ष २२ की पुजा सुनार घाइते भएका हुन् ।

त्यस्तै, अन्य घाइतेहरुमा तनहुँको शुक्लागण्डकी नगरपालिका –४ बस्ने वर्ष ४० को बलबहादुर गर्बुजा, व्यास नगरपालिका– ५ पतेनीका ६३ वर्षीय हिरा बिक, सोही ठाउँमा ६६ वर्षीय त्रिलाल बिक, व्यासकै वडा –१३ बस्ने वर्ष ४५ की रुपा रम्तेल, वर्ष ४० को यमबहादुर रम्तेल र म्याग्दे गाउँपालिका –४ थर्पु बस्ने वर्ष ५४ को शारदा कुमाल छन् । 

गोरखा पालुङटार नगरपालिका–२ का ७५ वर्षीय सुकुन्धरा नेपाली, कास्की अन्नपूर्ण गाउँपालिका–१ बस्ने वर्ष १९ कि इल्का लिम्बु पनि घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू सबैको दमौली अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, कास्कीको पोखरा महानगरपालिका –३ बस्ने अग्नि सुनार घाइते भएको र उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

टिप्पणीहरू