विमानमा आगो,महाप्रबन्धक र सुरक्षा प्रमुख अत्तालिँदै टावरतिर
हिजो राति काठमाडौंबाट संयुक्त अरब इमिरेट्सको दुबईतर्फ उडेको फ्लाई दुबईको विमानमा जमिन छाडेलगत्तै आगोको मुस्लो देखियो । दायाँतर्फको इञ्जिनमा देखिएको आगोको लप्कासहित काठमाडौंको आकाशमा विमानले फन्को लगाएपछि राजधानीबासी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाहाकार मच्चिएको थियो ।
राति सवा ९ बजेको समयमा भएको उक्त घटनाको बारेमा अनेक अड्कलबाजी गर्न थालियो । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७६ बोइङ विमान थानकोट हुँदै धादिङतर्फ गएको थियो । विमान चालकले धादिङमाथिको आकाश हुँदै विमानलाई सिमरा क्षेत्रको आकाशमा २८ हजार फिटमा घुमाइरहे ।
इञ्जिनमा आगलागी भएको वा अन्य केही भन्ने सम्बन्धमा यकिन गर्न चालक दलले विमानलाई केहीबेर नेपालको आकाशमा घुमाइरहे । विमान क्रमशः ३२ हजार फिटमाथि पुगेपछि इञ्जिनमा चरा ठोक्किएको र सोही चरा डढ्ने क्रममा आगोको मुस्लो बाहिर देखिएको ठहर भएको थियो ।
यता, विमानस्थलमा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारी र विमानस्थल सुरक्षा प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्य साढे ९ बजेको समयमा हुरदुराउँदै एयर ट्राफिक कन्ट्रोल (एटिसि) टावरमा उक्लेको बताइन्छ । त्यसैगरी सुरक्षाकर्मीका सवारी साधन अन्धाधुन्ध ढंगले साईरन बजाउँदै विमानस्थल पुगेपछि त्यहाँ रहेका हजारौं यात्रुुहरु सशंकित भएका थिए ।
कुरै नबुझी र आधिकारिक सूचना प्रवाह नगरेका कारण यात्रुलाई बिदाई गर्न गएका र काठमाडौं आउँदै गरेका यात्रुका सयौं परिवारजन आतंकित भएको बताइन्छ । करिब १० बजेको समयमा पाइलटहरुले विमानको अवस्था ठीक भएको जानकारी गराएपछि फ्लाई दुबइको उक्त विमान निर्धारित गन्तव्यतर्फ गएको थियो ।
विमानमा चालक दलका छ जना सदस्यसहित ४६ जना नेपाली र एक सय १७ जना विदेशी गरेर कुल १६९ जना थिए । उक्त विमान साँझ ७ बजे ५५ मीनेटमा उड्नुपर्ने पूर्वनिर्धारित तालिका थियोे । तर ९ बजेर १९ मीनेटमा विमानस्थलको रन वे छाडेको बताइन्छ ।
सोही क्रममा विमानको इञ्जिनमा चरा ठोक्किएको हो । विमान कोटेश्वर नजिकैको नरेफाँटमाथि पुगेपछि आगोको मुस्लो देखिएको बताइन्छ ।
यता काठमाडौंमा भएको उक्त घटनाको लगतै दुबई सरकारको मिडिया अफिसले सामाजिक सञ्जालमा जानकारी गराएको थियो । सूचनामा विमानमा चरा ठोक्किएको र निर्धारित स्थानीय समयानुसार मध्यरात १२ बजेर १४ मीनेटमा दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उल्लेख थियो । सोहीबमोजिम विमान अवतरण गरेपछि झण्डै चार घण्टा अगाडि काठमाडौंको आकाशमा देखिएको त्रासदीपूर्ण सम्भावित दुर्घटना सुखद् खुशीमा परिणत भएको हो ।
टिप्पणीहरू