सामान छाडेर जहाज उडेकोमा छानविन शुरु

सामान छाडेर जहाज उडेकोमा छानविन शुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अस्ति राति भएको लगेज लोडसम्बन्धी बदमासीको नेपाल वायुसेवा निगमले छानबिन गर्ने भएको छ । विमानस्थलमा यात्रुको लगेजमा हुने गरेको गैरजिम्मेवारीपूर्ण घटना समय समयमा बाहिर आउने गरेको छ । 

अस्ति राति साढे ११ बजे काठमाडौंबाट क्वालालम्पुर उड्न लागेको मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच ११५ मा यात्रुको लगेज लोडमा गम्भीर बदमासी भएपछि ग्राउन्ड ह्याण्डलिङ्गको जिम्मा लिएको नेपाल वायुसेवा निगमको उच्च नेतृत्वले चासो लिएको हो । उक्त गैरजिम्मेवारपूर्ण कार्यको छानबिन गर्न सामान्य सेवा विभागका निर्देशक अनिल घिमिरेको संयोजकत्वमा छानबिन उपसमिति बनाइएको छ ।

आगामी दिनमा उक्त गुनासोलाई निमिट्यान्न पार्न कार्यकारी अध्यक्ष युवराज अधिकारीले घिमिरेको नेतृत्वमा छानबिन र सुझाव उपसमिति गठन गर्न लगाएको बताइएको छ । उपसमितिका अन्य सदस्यमा वित्त विभागका निर्देशक दीपेन्द्र सुवेदी, जनशक्ति विभागका उपनिर्देशक टंकबहादुर भण्डारी सदस्य सचिव छन् ।

उपसमितिले अस्ति बेलुकीको लगेज लोडिङ काण्डको तथ्य पत्ता लगाएर आगामी दिनमा त्यस्तो घटना हुन नदिने, त्यस्ता घटनाको कारण, समस्या र समाधानका उपाय सिफारिस गर्नेछ । यो काम गर्न उक्त उपसमितिलाई दुई साताको समय दिइएको बुझिएको छ ।

टिप्पणीहरू