अमरेशकुमारले उठाए नयाँ ‘पम्फादेवी’ को सन्दर्भ

नेपाली काँग्रेसले आमनिर्वाचनमा टिकट नदिएपछि बागी उठेर जितेका अमरेशकुमार सिंहले संसद बैठकमा पम्फादेवीको चर्चा गरेका छन् । सिंहले प्रतिनिधि सभाको हिजोको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्दै उक्त सन्दर्भ तेर्साएका हुन् ।

सिंहले भनेका थिए, ‘गणतान्त्रिक पम्फादेवीमाथि किन कारबाही हुँदैन ?’ पम्फादेवीको सन्दर्भ उठाउँदै अमरेशकुमारले २०४६ सालअघिका कतिपय घटनालाई जोडेका थिए । पञ्चायतको अन्त्य र बहुदलीय व्यवस्था पुनस्थापनासँगै ३३ वर्षअगाडि पम्फादेवीमाथि  कारबाहीको माग उठेको र अहिले फेरि नयाँ पम्फादेवी सलबलाएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

‘अहिले फेरि गणतन्त्रमा अर्कै पम्फादेवको चर्चा छ,’ उनले गृहमन्त्रीतर्फ हेर्दै भने, ‘मुलुकका ठूला भ्रष्टाचारमा ती पम्फादेवीको संलग्नता रहेको खबर बाहिरिने गरेको छ । यस्ता कार्यबाट गणतन्त्र नै समाप्त हुने खतरा उत्पन्न हुँदै गएको छ । ती पम्फादेवीलाई सरकारले के कस्तो कारबाही गर्छ ?’ 

तनहुँ १ बाट उपनिर्वाचनमा निर्वाचित सांसद स्वर्णिम वाग्लेले केही महिनाअगाडि पनि सिंहको जस्तै धारणा राखेका थिए । उनले नेपाली काँग्रेस र गणतन्त्र बचाउन पार्टी सभापति शेरबहादुर देउवासँग जोडिएकी महिला नेतृको कामकारबाहीप्रति कडा असन्तुष्टि राखेका थिए । अन्ततः वाग्ले काँग्रेस त्यागेर घण्टी चिन्हमा सांसद बनेका छन् ।

तर सांसद अमरेशले भने कसैको पनि नाम उच्चारण नगरी ‘पम्फादेवी’ को सन्दर्भ जोडेका हुन । २०४६ सालअघि ‘पम्फादेवी’ को नाममा स्वीट्जरल्याण्डको बैंकमा रकम थुपारेको व्यापक चर्चा हुने गर्दथ्यो । अमरेशले नाम नलिए पनि उनले काँग्रेसको तर्फबाट समानुपातिक सांसद रहेकी नेतृप्रति उक्त विशेषण भिराएको सजिलै बुझ्न सकिन्थ्यो ।

हिजैको बैठकमा सांसद मनिष झाले मुलुकमा पछिल्लो ३० वर्षमा हालसम्म दुई दर्जनभन्दा बढी गृहमन्त्री भइसकेको र कसैले पनि गृहमन्त्री भएको सन्दर्भ जोडे । उनका अनुसार प्रहरीको मानसिक स्वास्थ्यमा परेको असरको अध्ययन गर्नुपर्ने र त्यसको निदानको निम्ति पहल सरकारबाट नभएको उनको आरोप थियो । 

उत्कृष्ट प्रहरी सेवा रहेको मानिने स्वीट्जरल्याण्ड, नर्वे, जापान, भियतनाम, सिङ्गापुरलगायत विश्वका केही विकसित मुलुकले उक्त विषयमा सजगतापूर्वक प्रहरी प्रशासन सञ्चालन गरेकाले सेवा र प्रभावकारिता पनि त्यस्तै पाइएको सन्दर्भसमेत जोडिएको छ । 

यसअघि उपप्रधान तथा गृहमन्त्रीले संसदको रोष्ट्रममा उभिएर उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनुभएको थियो । तर, जनमत पार्टीका अध्यक्ष एवम् सांसद सीके राउतले गृहमन्त्रीले राखेको उक्त धारणाको खण्डन गरिदिए । राउतले भने, ‘उपनिर्वाचनमा सत्तापक्षले व्यापक धाँधली गर्यो । नक्कली मतपत्र भेटियो, नक्कली मतदाताले निर्वाध मतदान गरे । समग्रमा धाँधली र बुथ कब्जाको प्रयासमा निर्वाचन सम्पन्न भयो ।’ 

उनै राउतले गृहमन्त्रीमाथि विभिन्न सांसदले उठाएका जिज्ञासामा ‘हुन्छ’ भनेर जवाफ दिने गर्नुभएको सन्दर्भ पनि उठाए । कुनै पनि नागरिक नागरिकताबाट वञ्चित नहुने भनेर गृहमन्त्रीले दिनुभएको यसअघिको उद्घोषलाई राउतले दोहोर्याएका छन् ।

टिप्पणीहरू