एमाले उपमहासचिव र माओवादी महासचिवको खर्च बेहिसाब, विवरण सामान्य

एमाले उपमहासचिव र माओवादी महासचिवको खर्च बेहिसाब, विवरण सामान्य

अञ्जनकुमार 

गत मंसिरको आमनिर्वाचनमा निर्वाचित भएपछि लमजुङको सदरमुकाम बेसीसहरको होटेल टुकुचे पिकमा कार्यक्रम आयोजना गरियो । अधिकांश पार्टी कार्यकर्ता उपस्थित कार्यक्रममा नेकपा एमालेका उपमहासचिव तथा लमजुङबाट निर्वाचित संघीय सांसद पृथ्वीसुब्बा गुरुङ प्रमुख व्यक्तित्व थिए ।

कार्यक्रममा बोल्दै गुरुङले चुनाव निकै खर्चिलो भएको बताए । आफ्नै कार्यकर्तालाईसमेत मतको निम्ति किन्नुपर्ने दिन आएको तीतो तर यथार्थ पोखेका थिए । त्यसपछिका अनौपचारिक भेटघाटमा उनले आफ्नै भनिएका पत्रकारहरुले समेत आफूलाई ठगेको, कार्यकर्ताहरुले इमान गुमाएको, जाँडरक्सी र मासुबिना पाइला चाल्नै छाडेको गुनासो गरेका थिए ।
 
उनले त्यतिबेला भनेका थिए, ‘२५ भोटको समेत हैसियत नभएकाले उम्मेदवारी हाले । यति खर्च भएको छ त्यसको बन्दोबस्ती हुने भए उम्मेदवारी फिर्ता लिएर सहयोग गर्छु भनेर वाक्कदिक्क पारे । ती सबैलाई मिलाउँदा चुनावी खर्च एक करोडले पनि भ्याएन ।’

आफ्ना प्रतिद्वन्दी तथा सत्ता गठबन्धनका उम्मेदवार बनेका माओवादी महासचिव देव गुरुङको झन् दोब्बर खर्च भएको अनुमान पृथ्वीको थियो । अनौपचारिक छलफलमा चुनावमा करोडौं खर्च भएको बताएका उपमहासचिव गुरुङले निर्वाचन कार्यालयलाई बुझाएको खर्च विवरणमा निर्वाचन आयोगले तोकेको खर्चको सीमा नाघेको देखिँदैन ।

२०४३ सालदेखि चुनाव लड्दै आएका गुरुङले जिल्ला निर्वाचन कार्यालय मार्फत निर्वाचन आयोगमा पठाइएको खर्च विवरणमा २१ लाख ९७ हजार उल्लेख छ । खर्चमध्ये कोणसभामा १ लाख १२ हजार, यातायात ६ लाख ५० हजार, खाना तथा आवास ५ लाख २५ हजार, प्रचारप्रसार ३ लाख, निर्वाचन प्रतिनिधिको आवास र खानामा २ लाख ४० हजार, मतदाता नामावली फोटोकपी १ लाख २० हजार र पालिकास्तरीय बुथ खर्चमा २ लाख ५० हजार खर्च देखाइएको छ । 

उनीसँगै उठेका एमाले प्रदेशसभा उम्मेदवार कृष्णप्रसाद अधिकारीले चुनावी खर्च विभिन्न शीर्षकमा ८ लाख ६० हजार ७२० भएको हिसाब निर्वाचन कार्यालयमा पेश गरेका छन् । लमजुङ प्रदेश (ख) बाट विजयी काँग्रेसका भेषबहादुर पौडेलको खर्चको कुनै लेखाजोखा नभएको काँग्रेसीहरु नै बताउँछन् । ‘जिल्लाकै धनीमध्येका एक परिवारका सदस्य पौडेलको द हिमालयन रिसोर्टमा बसेर नेता कार्यकर्ताले दाउन मारेको महँगो रक्सीमासुको हिसाब कसरी निकाल्नु ?,’ एक जना कार्यकर्ताले भने, ‘खर्च भन्दापनि उनको शालिन सम्बन्धले विजयी बनेका हुन् ।’

पौडेलले बुझाएको चुनावी खर्चमा सवारी साधन वापत १ लाख ३३ हजार, खानाखाजा १ लाख ४४ हजार, इन्धन ७७ हजार  ६१५, झन्डा ब्यानर १ लाख ८२ हजार दुईसय र प्रचार सामाग्री भन्दै पोस्टर पम्प्लेटको ३ लाख ४४ हजार २ सय गरी कुल ८ लाख ८१ हजार १५ रुपैयाँको विवरण बुझाएका छन् । 

माओवादीका एक नेताका अनुसार गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका महासचिव देव गुरुङसँग काँग्रेसी कार्यकर्ताले हाकाहाकी पैसा मागेको खुलासा गरेका थिए । यसो त देवलाई चुनावी खर्च भनेर लमजुङमा सञ्चालित हाइड्रोपावरका लगानीकर्ताहरुले रकम बुझाएको भनेर त्यतिबेलै हल्ला भएको थियो । निर्वाचनमा पराजित भए पनि उनले बुझाएको खर्च विवरणमा सबैभन्दा बढी खर्च उनैको देखिन आएको छ ।

जसअनुसार गुरुङले २४ लाख ५२ हजार २ सय २५ रुपैयाँ खर्च भएको बताएका छन् । सबैभन्दा बढी प्रतिनिधि परिचालनमा ८ लाख रुपैयाँ खर्च भएको उल्लेख छ । मतदाता नामावली खरिदमा ३ हजार र प्रचारप्रसार सामाग्रीमा ३ लाख ३९ हजार ३ सय ५० छ । आठ स्थानमा गरिएको गोष्ठी अन्तरक्रियामा १ लाख ५० हजार, सवारी साधन भाडा ३ लाख, ढुवानी १ लाख, कार्यालय सञ्चालन ३ लाख ३६ हजार ४ सय, इन्धन ३ लाख ३३ हजार ४ सय ७५ र प्रचारप्रसार एवम् प्रतिनिधि परिचालनमा १ लाख रुपैयाँ खर्च भएको गुरुङको दाबी छ ।

त्यस्तै प्रदेश सभा (क) बाट निर्वाचित नेपाली काँग्रेसका उम्मेदवार डा. टकराज गुरुङले आफ्नो निर्वाचन खर्च १५ लाख २४ हजार रहेको जनाएका छन् । उनले पेश गरेको खर्च विवरणअनुसार सबैभन्दा बढी खाना खाजामा देखिएको छ । जसमा ७ लाख रुपैयाँ खर्च गरिएको छ । 

अन्य खर्चमा घोषणापत्र छपाई १ लाख ५० हजार, पर्चा पम्प्लेटमा ८५ हजार, अपिल छपाईमा ५५ हजार, नमूना मतपत्र छपाइमा ९० हजार ३ सय, झण्डा, स्वस्तिक छाप, स्ट्याम्प ब्यानर आदिमा १ लाख ८५ हजार, इन्धन खर्च १ लाख ९ हजार २ सय र गाडी भाडा १ लाख ५० हजार उल्लेख छ । जसले जति जति खर्च उल्लेख गरे पनि वास्तविक खर्च त्यसको पाँच गुणा रहेको निर्वाचन कार्यालयका कर्मचारीहरुनै बताउँछन् । एक जनाले भने, ‘गत असोज, कात्तिक र मंसिरमा गरिएको खर्च सदरमुकाममा हाम्रै आँखाले देखेको हो । भन्न मिलेन क्यार !’

टिप्पणीहरू