माओवादी लडाकुलाई रकम दिने निर्णय रोक्न माग गर्दै एमालेका युवाहरुको अर्थ मन्त्रालयमा डेलिगेसन

माओवादी लडाकुलाई रकम दिने निर्णय रोक्न माग गर्दै एमालेका युवाहरुको अर्थ मन्त्रालयमा डेलिगेसन

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले देशको अर्थतन्त्र खस्किँदै गएको अवस्थामा 'अयोग्य लडाकु'लाई दुई लाख दिने सरकारको निर्णय गलत भएको बताएको छ । 

सरकारको निर्णयप्रति आपत्ति जनाउँदै एमालेका युवाहरुले आज अर्थमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । अर्थतन्त्र कम्जोर हुँदा उद्योगधन्दा धरायसी हुन गई व्यवसायीहरुले आत्महत्याको बाटो रोजिरहेको अवस्थामा लडाकु र नक्कली लडाकुको नाममा अर्बौ रुपैयाँ राज्य कोषबाट बाड्ँने काम रोक्न ज्ञापनपत्रमा आग्रह गरिएको छ । 

धरायसी अर्थतन्त्रलाई उकास्न प्राथमिकताको आधारमा लगानी गर्नुको साटो अयोग्य लडाकुको नाममा राष्ट्रिय ढुकुटीबाट अर्बौ घोटाला गरी मुलुकलाई टाट पल्टाउने र नीतिगत भ्रष्टाचार गरी अमुक पार्टीले रकम कुम्ल्याउने योजना रहेको पनि संघले आरोप छ । 

ज्ञापनपत्रमा भनिएको छ, ‘मौलिक हक–अधिकार र चरम बेरोजगारी समस्याको समाधानका लागि लगानी गरिनुको साटो उल्टै सरकारले १८ वर्षपछि पूर्व अयोग्य लडाकुको नाममा अर्बौ रुपैयाँ राज्य कोषबाट बाड्ँने तयारी गरिन, राष्ट्रिय ढुकुटी घोटाला गरी मुलुकलाई टाट पल्टाउने र नीतिगत भ्रष्टाचार गरी अमुक पार्टीले रकम कुम्ल्याउने, व्यक्ति पोस्ने घृणित राजनीतिक योजना रहेको प्रष्ट देखिन्छ ।’

राज्यको यस्तो गैरजिम्मेवार निर्णयले युवाका मुद्दाहरुको दिगो समाधान नहुने उल्लेख गर्दै एमालेको युवा संगठनले तत्काल निर्णय खारेज गर्न मागसमेत गरेको छ ।
 

टिप्पणीहरू