वीर अस्पतालको छत खस्दा चार जना बिरामी घाइते, नजिकैको ट्रमामा पुर्याइयाे

मुलुककै जेठो अस्पताल वीर अस्पतालको छतको पर्खाल भत्किँदा चार जना घाइते भएका छन् । आज दिँउसो पूरानो भवनको छतको पर्खाल भत्किँदा उनीहरु घाइते भएका हुन् । 

हिजो र आजको वर्षाका कारण पूरानो इँट्टाको पर्खाल मक्किएर प्लास्टिकको छाप्रोमा खसेको हो । त्यसक्रममा उपचारका लागि अस्पताल आएका बिरामीहरुलाई खसेको छानोले लाग्दा चार जना घाइते भएको अस्पताल प्रशासनले जनाएको छ । 

घाइते हुनेमा गुल्मीको रेसुङ्गा गाउँपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ बस्दै आएका ५८ वर्षीय धनेश्वर पन्थी र महोत्तरीको जलेश्वर नगरपालिका–९ की ६४ वर्षीया बौवादायी देवीको पनि टाउकोमै चोट लागेको बताइएको छ । 

त्यस्तै, महोत्तरीको पिपरा गाउँपालिका–६ की ४१ वर्षीया रिना झा चौधरीको ढाडमा र सोही गाउँपालिका–४ की ६६ वर्षीया श्यामादेवीको टाउको, बायाँ खुट्टा र दाहिने हातमा चोटपटक लागेको छ ।

घाइते सबैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको एक चिकित्सकले बताए ।

टिप्पणीहरू